०६ साउन २०८३, बुधबार

निर्वाचन क्षेत्र भ्रमणमा स्थानीय संगठनसँग अनिवार्य समन्वय गर्न सांसदहरूलाई रास्वपाको निर्देशन

साउन ५, २०८३
काठमाडौं
निर्वाचन क्षेत्र भ्रमणमा स्थानीय संगठनसँग अनिवार्य समन्वय गर्न सांसदहरूलाई रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा स्थानीय पार्टी संगठनसँग अनिवार्य समन्वय गर्न निर्देशन दिएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको परिपत्रमार्फत सांसदहरूको निर्वाचन क्षेत्र भ्रमणलाई केवल औपचारिक जनसम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सुदृढ बनाउने र जनताका मुद्दालाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह गरेका हुन् ।

परिपत्रमा कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित पार्टी समितिलाई पूर्वसूचना दिनुपर्ने तथा आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा कार्यक्रम भए सम्बन्धित सांसद र पार्टी संयन्त्रसँग आवश्यक समन्वय गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, स्थानीय समितिसँग पूर्वछलफल गरी त्यस क्षेत्रका ज्वलन्त मुद्दा पहिचान गर्न, ती विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी प्राथमिकताका साथ उठाउन तथा कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको नेतृत्व र अपनत्व सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ ।

रास्वपाले भ्रमण र कार्यक्रमलाई तडकभडक तथा अनावश्यक खर्चबाट मुक्त राख्दै मितव्ययी ढंगले सञ्चालन गर्न र त्यसमार्फत सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न पनि सांसदहरूलाई आग्रह गरेको छ ।

यस्तै, निर्वाचन क्षेत्र भ्रमणका क्रममा प्राप्त जनसुझाव, गुनासा तथा स्थानीय समितिका प्रतिवेदनलाई लिपिबद्ध गरी संस्थागत रूपमा संघीय संसदीय दलमा पेस गर्नुपर्ने व्यवस्था पनि परिपत्रमा गरिएको छ ।

महामन्त्री आचार्यले सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक भएको उल्लेख गर्दै सुव्यवस्थित र समन्वयात्मक प्रयासबाट मात्रै दलको संस्थागत परिपक्वता र जनताप्रतिको जवाफदेहिता थप सुदृढ हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्