२० असार २०८३, शनिबार

हिन्दूराष्ट्रका लागि कांग्रेसमा हस्ताक्षर अभियानले उब्जाएको बहस: सम्भव छ व्यवस्था उल्टिन ?

पुस ३, २०७५
हिन्दूराष्ट्रका लागि कांग्रेसमा हस्ताक्षर अभियानले उब्जाएको बहस: सम्भव छ व्यवस्था उल्टिन ?

काठमाडौं - काठमाडौंमा चलिरहेको नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी करीब साढे ६ सय नेताले नेपाललाई पुनः हिन्दूराष्ट्र बनाउनुपर्ने मागका पक्षमा हस्ताक्षर गरेका छन् । महासमिति बैठकको गेटमै हिन्दूधर्मको पक्षमा वकालत गर्नेहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् । बैठकमै समेत पिन महासमिति सदस्यहरूले हिन्दूराष्ट्र कायम गर्नुपर्ने पक्षमा धारणा राखेका छन् ।

पञ्चायती संविधानमा औपचारिक रूपमा उल्लेखित हिन्दूराष्ट्रको प्रावधानले २०४७ सालको संविधानमा पनि निरन्तरता पाएको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि निर्मित अन्तरिम संविधानमा उक्त प्रावधान हटाएर धर्म निरपेक्षताको व्यवस्था राखियो । २०७२ सालमा संविधानसभाले जारी गरेको नेपालको संविधानको प्रस्तावनामै धर्मनिरपेक्षता उल्लेख गरिएको छ । 

एकथरी राजनीतिक विश्लेषकहरू २०६२/६३को जनआन्दोलनमा धर्मनिरपेक्षताको पक्षमा कुनै पार्टी, समूह र व्याक्तिले आवाज नउठाएको ठोकुवा गर्छन् र संविधानमा अचानक धर्मनिरपेक्षता भन्ने शब्द घुसाइनुको कारण वैदेशिक हस्तक्षेपले हो भन्ने मान्यता राख्छन् । नेपाललाई वैदेशिक हस्तक्षेपको केन्द्र बनाउन र क्रिश्चियन मिसन सफल पार्नका लागि संविधानमै धर्म निरपेक्षता उल्लेख गर्न लगाइएको उनीहरूको तर्क छ । 

षड्यन्त्र गरेर नेपाललाई धर्मनिरपेक्ष बनाइएको मान्यताले प्राय: सबै दलभित्रका एउटा-एउटा समूहमा डेरा जमाएको देखिन्छ । वामपन्थी मानिने सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा एउटा सानो तप्कालाई धर्मनिरपेक्षताको प्रावधान मन नपरेको देखिन्  । कमल थापा नेतृत्वको राप्रपा त घोषित रूपमै नेपाललाई हिन्दूधर्म सापेक्ष देश बनाउने अभियानमै छ ।

कांग्रेसभित्रको बहस 

अन्तरिम संविधानमा धर्मनिरपेक्षताको प्रावधान राख्ने समयमा नेपाली कांग्रेसको त्यसबखतको केन्द्रीय कार्यसमितिमा छलफल नै नगराइकन धर्म निरपेक्षतालाई पारित गराइएको थियो । त्यस लगत्तैको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने ३१ जना मध्ये २८ जनाले यसको विरोध गरेका थिए । त्यसमा संविधान निर्माणको जस लिएका प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला समेत सामेल थिए ।

नेपालको इतिहासमा पुरानो लोकतान्त्रिक पार्टी मानिने नेपाली कांग्रेसभित्र धर्मको विषयमा चल्ने गरेको बहस नौलो होइन । पार्टीका महामन्त्री शशांक कोइराला जनमत संग्रह गरेरै भएपनि नेपाललाई हिन्दूधर्म सापेक्ष देश बनाउनु पर्ने धारणा राख्छन् । कोइरालाकै भनाइलाई आधार मान्ने हो भने नेपालमा ९० प्रतिशतभन्दा धेरै जनता सनातनी वैदिक धर्ममा विश्वास राख्छन् र बहुमत जनताको धार्मिक आस्थाको कदर गर्नु संविधानको पनि दायित्व हुन आउँछ । 

सञ्चार माध्यममा यदाकदा मात्र बोल्ने शशांक कोइरालाले महासमिति बैठकको उद्घाटनको दिन लोकान्तरसँग कुरा गर्दै भनेका थिए, ‘बाहिर कसले के बोल्छ त्यो महत्त्वपूर्ण विषय होइन, पार्टीको आन्तरिक बैठकमा हामी जोडदार रूपमा हिन्दूराष्ट्रको पक्षमा कुरा उठाउँछौं । नेपाली कांग्रेसको प्रस्तावित विधानमा हिन्दूराष्ट्रको प्रावधान राखिसकेपछि राष्ट्रव्यापी बहसमा जानेछौं ।’

एक साताअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको  केन्द्रीय समिति बैठकमा धर्मको विषयलाई लिएर चर्को विवाद भएको थियो । हिन्दूराष्ट्र पक्षीय नेता शंकर भण्डारीका अनुसार त्यहाँ हात हालाहालको स्थिति सिर्जना भएको थियो । 

कांग्रेस केन्द्रीय समितिमा बहुमत सदस्य धर्मको विषयमा चुपचाप बसिरहेको भएतापनि केही नेताहरू खुलेरै हिन्दूराष्ट्र कायम गर्ने पक्षमा मिडियाबाजी गरिरहेका छन् । लोकान्तरसँग कुरा गर्दै केन्द्रीय समिति सदस्य शंकर भण्डारीले भनेका थिए, ‘हिन्दूधर्म कांग्रेसभन्दा माथि छ । धर्मका लागि हामी हात हालाहाल मात्र होइन, जे पनि गर्न तयार छौं ।’ 

कांग्रेसमा महासमिति बैठकलाई महाधिवेशन पछिको महत्त्वपूर्ण र शक्तिशाली निकाय मानिन्छ । १६ भन्दा बढी महासमिति सदस्यमध्ये मंगलवार दिउँसोसम्ममा ६ सय ५० भन्दा बढीले हिन्दूराष्ट्रका लागि चलेको अभियानमा समर्थन जनाउँदै हस्ताक्षर गरिसकेका छन् । यदि बहुमत महासमिति सदस्यले हिन्दूराष्ट्रका पक्षमा आवाज उठाए भने त्यो नेपाली कांग्रेसको आगामी चुनावी एजेण्डा बन्ने निश्चित छ । 

भोटको लोभ ?

नेपालमा पछिल्लो आधिकारिक तथ्यांक अनुसार हिन्दू धर्मावलम्बीको संख्या ८१ दशमलव ३ प्रतिशत रहेको छ । ९ प्रतिशत जनता बौद्ध धर्मावलम्बी, ४ दशमलव ४ प्रतिशत जनता इस्लाम धर्मावलम्बी, ३ प्रतिशत जनता किराती, १ दशमलव ४ प्रतिशत जनता इसाई र बाँकी केही प्रतिशत शिख, जैन अथवा नास्तिक रहेका छन् । 

नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको माग गर्नेहरूले माथिल्लो तथ्यांकलाई राम्रोसँग विश्लेषण गरेको हुनुपर्छ । बहुसंख्यक जनता हिन्दू वा वैदिक सनातनी धर्ममा विश्वास राख्ने अथवा ओमकार परिवारभित्र पर्ने हुनाले हिन्दूधर्मको एजेन्डाले कांग्रेसलाई आगामी चुनावपछि सिंहदरबार छिराउन सक्ने निष्कर्षमा हिन्दूराष्ट्रको माग गर्नेहरू पुगेको हुनुपर्छ । 

यद्यपि नेपालमा वामपन्थी भोटरहरू पनि उत्तिकै मात्रामा छन् । हिन्दूधर्म मान्ने भएपनि कम्युनिस्ट स्कुलिङमा हुर्केकाहरू ‘नन प्राक्टिसनर’ हिन्दू धर्मावलम्बी हुन् । चुनावमा हिन्दूराष्ट्रको एजेण्डा उठाएपनि सबै हिन्दूधर्मावलम्बीको भोट कांग्रेसलाई नै जान्छ भन्ने छैन । चुनावको माहोलमा धर्मभन्दा बढी उम्मेदवारको पृष्ठभूमि, सम्बन्धित पार्टीको तात्कालीन घोषणापत्र आदि लगायतका ‘फ्याक्टर’हरू महत्त्वपूर्ण हुन्छन् । 

हिन्दूराष्ट्र कायम गर्ने उपाय के ?

राजनीतिशास्त्र भन्छ, ‘विद्रोह, आन्दोलन या जनताको व्यापक दवावबाट फेरिएको राज्यव्यवस्थालाई पुरानै स्वरूपमा फर्काउनका लागि जनताको भोट मात्र काफी हुँदैन ।’ संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालका लागि महत्त्वपूर्ण उपलब्धि हुन् भनेर स्वयं नेपाली कांग्रेसको प्रस्तावित विधानमा उल्लेख गरिएको छ । 

कांग्रेसभित्र उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला, युवानेता गगन थापा लगायत पछिल्लो परिवर्तनलाई मान्ने तप्कामा छन् । पछिल्लो समय यस विषयमा उनीहरूले केही बोलेका छैनन् ।  ‘जताजता बाहुनबाजे उतैउतै स्वाहा’ गर्ने कांग्रेसका कतिपय नेताहरू धर्मको बारेमा बोलेर विवादित हुन चाहन्नन् । 

नेपाली कांग्रेसमा जनमत संग्रह गरेरै भएपनि हिन्दूसापेक्ष राष्ट्र बनाउनुपर्छ भन्ने माग बढिरहेको सन्दर्भमा नेता शंकर भण्डारी भन्छन्, ‘पहिला कांग्रेसलाई धर्मको महत्त्व सम्झाउनु पर्‍यो, त्यसपछि जे-जे गर्न मिल्छ त्यही गरेर नेपाललाई हिन्दूराष्ट्र कायम गर्न हामी पछि हट्दैनौं ।’

जनमतसंग्रहको माग जनताको संवैधानिक अधिकारसम्मत भएपनि अहिलेको नेपालको राजनीतिक शक्ति सन्तुलनले जनमत संग्रह गराउने सम्भावना देखिँदैन । दुई तिहाइको वामपन्थी सरकारले धर्मको विषयलाई लिएर जनमत संग्रह गराउने कुनै सम्भावना नरहेको नेकपाका नेताहरू बताउँछन् । 

आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आएछ या ठूलो पार्टी नै बनेछ भने पनि नेपाली कांग्रेसभित्रै धर्म सापेक्षता र निरपेक्षताको विषयमा सिर्जना भएको बहस विवाद र गुटबन्दीको तहसम्म पुग्न सक्छ । त्यसो भयो भने धर्मको नाममा कांग्रेस विभाजित हुन सक्छ । हिन्दूराष्ट्र स्थापनाका लागि अर्को उपाय भनेको आन्दोलन नै हो । आन्दोलन रक्तपातपूर्ण पनि हुन सक्छ । नेपाली कांग्रेस धर्मका लागि सजिलै आन्दोलनमा होमिन्छ भनिहाल्ने अवस्था छैन ।

संविधानले के भन्छ ?

नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो भनेर उल्लेख गरिएको छ । बहुधार्मिक भन्नुको अर्थ नेपालमा सबै धर्मप्रति राज्यले बराबर सद्भाव राख्नुपर्छ र नागरिकहरूको धर्म मान्ने स्वतन्त्रताको रक्षा गर्नुपर्छ भन्ने अर्थ लाग्छ । संविधानको धारा ४ मा नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी लगायतका विशेषण प्रयोग गरिएको छ । धर्मनिरपेक्षताको स्पष्टीकरण दिँदै यस धारामा भनिएको छ, ‘धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक र सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’

शब्दको खेल खेलेर चुनावमा जनताको मत प्रभावित पार्ने हो भने अलग कुरा तर संविधानमा स्पष्ट रूपमा सनातनी वैदिक धर्म संस्कृतिको संरक्षण गरिनेछ भनेर उल्लेख हुनु हिन्दू धर्मावलम्बीको पक्षमा महत्त्वपूर्ण नै हो । नेपालको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति जति गरेको छ, त्यति नै परम्परागत सनातनी धर्मको संरक्षणको कुरा पनि उठाएको छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्