
खेलको अन्तिम समयसम्म दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले विश्वकप इतिहासकै सबैभन्दा नाटकीय पुनरागमन जित दर्ता गरेको छ। नेपाली समयअनुसार बिहीबार बिहान भएको 'राउन्ड अफ ३२' को खेलमा सेनेगललाई ३–२ ले पाखा लगाउँदै बेल्जियम विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलको निर्धारित समय सकिन ४ मिनेट बाँकी रहँदासम्म २–० ले पछि परेको बेल्जियमले अन्तिम मिनेटहरूमा दुई गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेल्यो। त्यसपछि अतिरिक्त समयको पनि अन्तिम सेकेन्डमा पेनाल्टीमार्फत तेस्रो गोल थप्दै बेल्जियमले जित पक्का गर्यो ।
विश्वकपको नकआउट चरणमा दुई वा सोभन्दा बढी गोलले पछि परेको स्थिति उल्टाएर अघिल्लो चरणमा प्रवेश गरेको विश्वकप इतिहासमै यो दोस्रो पटक हो। यसअघि सन् २०१८ को विश्वकपमा बेल्जियमले नै जापानविरुद्ध २–० ले पछि परेको स्थिति उल्ट्याएर ३–२ को जित निकालेको थियो ।
सन् २०१८ को रसिया विश्वकपमा तेस्रो स्थान हासिल गर्दाका बेल्जियमका मुख्य खेलाडीहरू नै यस जितका नायक बने । दोस्रो हाफमा मैदान छिरेका टोलीका शीर्ष गोलकर्ता रोमेलु लुकाकुले खेलको ८६ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए। त्यसको तीन मिनेटपछि अर्थात् ८९ औँ मिनेटमा युरी टिलेमान्सले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए।
खेल ट्राइब्रेकर (पेनाल्टी सुटआउट) तर्फ धकेलिनै लाग्दा अतिरिक्त समयको इन्जुरी समयको पाँचौँ मिनेटमा टिलेमान्समाथि पेनाल्टी बक्सभित्र फल भयो। भिडियो असिस्टेन्ट रेफ्रीको लामो जाँचपछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिइयो। उक्त पेनाल्टीलाई टिलेमान्सले नै गोलमा परिणत गर्दै विश्वकप इतिहासकै सबैभन्दा ढिलो समयमा भएको गोलको कीर्तिमान बनाए।
प्रतियोगितामा दुई पटकको विजेता फ्रान्स र एर्लिङ हल्यान्डको नोर्वे सम्मिलित कठिन समूहबाट उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै नकआउट चरण पुगेको सेनेगलका लागि यो पराजय निकै पीडादायी रह्यो । आफ्ना मुख्य गोलकिपर एडुआर्ड मेन्डी घुँडाको चोटका कारण अनुपस्थित रहे पनि सेनेगलले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो।
खेलको २५ औँ मिनेटमा हबिब डियाराको गोलबाट सेनेगलले सुरुवाती अग्रता लियो। ५१ औँ मिनेटमा इस्माइला सारले शानदार गोल गरेपछि सेनेगल २–० को बलियो स्थितिमा पुगेको थियो । यो जारी विश्वकपमा सारको चौथो गोल हो । त्यसपछि कर्टुवाले तीनवटा उत्कृष्ट बचाउ गर्दै सेनेगललाई थप गोल गर्नबाट रोकेका थिए । खेलको ५६ औँ मिनेटमा बेल्जियमका स्टार खेलाडी केभिन डे ब्रुइने र जेरेमी डोकु मैदानबाट बाहिरिएका थिए ।
अन्तिम समयमा पेनाल्टी दिइँदा सेनेगलका खेलाडीहरूले रेफ्रीसँग ठुलो प्रतिवाद गरेका थिए । सेनेगलका डिफेन्डर पाथे सिस त विरोध स्वरूप पेनाल्टी स्पटमाथि नै सुतेका थिए। टिलेमान्स प्रहारका लागि तयार भएपछि मात्र उनी त्यहाँबाट हटेका थिए ।
ऐतिहासिक जितसँगै बेल्जियम विगत चारवटा विश्वकपमा तेस्रो पटक अन्तिम १६ मा पुग्न सफल भएको छ। सन् २०१४ मा क्वार्टरफाइनल र २०१८ मा सेमिफाइनल पुगेको बेल्जियम कतार विश्वकप २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो। अब बेल्जियमले आगामी सोमबार सिएटलमै हुने अर्को खेलमा अमेरिका वा बोस्निया एन्ड हर्जगोभिनामध्ये एकको सामना गर्नेछ ।