
काठमाडौं उपत्यकाभित्र खसीबोकाको मूल्य बढेको छ। पछिल्लो एक महिनाभित्र खसीबोकाको मासुको मूल्य करिब दुई सयदेखि तीन सय रुपैयाँसम्म बढेको हो।
केही साताअघिसम्म प्रतिकिलोग्राम १२ सयदेखि १३ सय रुपैयाँ रहेको खसीको मासु अहिले १४५० देखि १६ सय रुपैयाँसम्म पुगेको छ। काठमाडौंका विभिन्न स्थानहरू (कलंकी, कुपन्डोल, इमाडोल, नयाँ बानेश्वर, टीकाथली, बूढानीलकण्ठ, सुन्धारा) मा खसीको मासु सबैभन्दा कम १ हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको छ। अधिकांश स्थानमा १ हजार ४८० देखि १ हजार ५५० रुपैयाँसम्म मासु बिक्री भइरहेको छ भने केही स्थानमा प्रतिकिलो १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ।
जिउँदो खसीको मूल्य बढेकाले मासुको मूल्य पनि बढेको व्यवसायीहरू बताउँछन्। जिउँदो खसीबोकाको मूल्य पनि प्रतिकिलो २०० रुपैयाँभन्दा बढी बढेको छ।
यसअघि प्रतिकेजी ६५० रुपैयाँमा बिक्री भइरहेका जिउँदा खसीबोका अहिले ८०० रुपैयाँभन्दा माथि पुगिसकेको नेपाल चौपाया बजार तथा वधशाला व्यवस्थापन प्रालीका सचिव जीवनराज खतिवडाले बताए। बजारमा ५०० वटा खसीबोका माग गर्दा २०० वटा पनि मुस्किलले पाउन सकिने अवस्था रहेको उनको भनाइ छ।
"यसअघि ६५० देखि ६६० रुपैयाँ प्रतिकिलोग्राममा जिउँदा खसी बिक्री भइरहेका थिए। अहिले ८०० रुपैयाँ नाघिसक्यो। यस्तै रह्यो भने ९०० रुपैयाँ नाध्छ," उनले भने, "यता राँगाको मासु पनि ५०० देखि ५५० रुपैयाँ थियो, अहिले ७०० रुपैयाँ केजी पुगिसकेको छ।"
यस्तै अवस्था रहे दसैँतिहार नआउँदै जिउँदो खसीको मूल्य १ हजार रुपैयाँसम्म पुग्न सक्ने उनी बताउँछन्। खसीबोका निकै कम आउने सिजन भएको र माग पनि बढी रहेकाले मूल्य बढेको उनले बताए। "अहिले खेतीबालीको सिजन भएकाले खसीबोका धेरै ल्याइँदैन। ठ्याक्कै सङ्क्रमण पनि देखिएको छ," उनले भने, "४५ जिल्लाहरूबाट यहाँ खसीबोका आउँछन्। तर, अहिले आपूर्ति गर्न सकस भइरहेको छ।"
काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बर्ड फ्लू सङ्क्रमण फैलिएपछि मासुको आपूर्ति शृङ्खला पनि बिग्रिएको छ। कुखुरामा बर्ड फ्लू सङ्क्रमण भएलगत्तै बजारमा खसीको मासुको माग बढ्न थालेको हो। त्यसैले अहिले बजारमा खसीको मासुको मूल्य पनि बढिरहेको व्यवसायीहरूको भनाइ छ।
खासमा नेपालमा मासु खपतको केही हिस्सा भारतबाट आयात हुने गरेको थियो, जहाँबाट जिउँदो खसीबोका मात्रै ल्याइन्थ्यो। नेपाली मासु बजारमा भारतको हिस्सा करिब २० देखि ३० प्रतिशत रहेको थियो। भारतबाट तयारी मासु ल्याउन त मिल्दै मिल्दैन। पशु सेवा विभागले आर्थिक वर्ष २०७७/७८ मा नै कुनै पनि मुलुकबाट मासु आयातमा प्रतिबन्ध लगाएको छ।
यसैबिच सरकारले पशुहरूमा पीपीआर नामक रोगको सङ्क्रमण देखिएपछि जिउँदा खसीबोका ल्याउन पनि रोक लगाएको हो। त्यति बेलादेखि अहिलेसम्म पशु सेवा विभागको क्वारेन्टाइन महाशाखामार्फत कानुनी रूपमा खसीबोका अथवा मासु ल्याउन रोक लगाइएको छ।
यति मात्रै होइन, अन्य मासुहरू र फ्रोजन आइटमहरू पनि नेपालमा आयात गर्न प्रतिबन्धित छ। पशु क्वारेन्टाइन महाशाखाका अनुसार केही सीमित प्रयोजनका लागि स्वीकृति लिएर मात्र केही मासुका परिकार नेपाल भित्रिने गरेका छन्। विशेष अतिथि तथा विशिष्ट व्यक्तित्वहरूका लागि (जस्तै: राजदूत, विदेशी अतिथि आदि) मात्रै केही मात्रामा सीमित मासु ल्याउने गरिएको छ।
त्योबाहेक व्यावसायिक प्रयोजनका लागि कुनै पनि प्रकारका मासुहरू आयात गर्न मिल्दैन। माछामा पनि त्यस्तै व्यवस्था छ। तर, नेपालमा नपाइने केही सीमित सामुद्रिक माछाहरू विभिन्न देशहरूबाट भित्रिने गरेका छन्।
चालू आर्थिक वर्षको ९ महिनामा १ लाख ३२ हजार ७०३ वटा खसी/बोका काठमाडौं उपत्यका भित्रिएका छन्। यसका साथै ६४ हजार ९९३ वटा पाडा/पाडीहरू भित्रिएका छन्। मासुमा सबैभन्दा बढी खपत हुने कुखुरा हो। त्यसपछि खसी र राँगा/भैँसीको मासु बढी खपत हुन्छ।
यसका साथै माछाको पनि खपत निकै हुने गरेको छ। तर, अहिले माछाको भन्दा मासुको आपूर्तिमा गडबढ भइरहेको छ, जसको प्रमुख कारण बर्ड फ्लू पनि हो। उच्च मृत्युदर भएको, पन्छीहरूमा लाग्ने बर्ड फ्लू झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानहरूमा पुष्टि भइसकेको पशु सेवा विभागले जनाएको छ।
अहिलेसम्म विभागले ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट गरिसकेको छ। सँगै ९ लाख ८९ हजार ३१३ वटा अन्डा र १ लाख ९५ हजार ४८५ केजी दाना नष्ट गरिएको छ।
काठमाडौं उपत्यका बर्ड फ्लूको उच्च जोखिममा छ, तर पनि चिकेन (कुखुराको मासु) को मूल्य र मागमा भने कुनै ठुलो फरक देखिएको छैन। अहिले चिकेन प्रतिकिलोग्राम ३७० रुपैयाँको आसपासमा बिक्री भइरहेको छ।