०२ साउन २०८३, शनिबार

लामखुट्टेले केही मानिसलाई मात्र किन बढी टोक्छ ? यस्तो छ वैज्ञानिक कारण

असार २६, २०८३
काठमाडौं
लामखुट्टेले केही मानिसलाई मात्र किन बढी टोक्छ ? यस्तो छ वैज्ञानिक कारण

 हामीमध्ये धेरैले अनुभव गरेका छौँ कि एउटै ठाउँमा बस्दा पनि कसैलाई लामखुट्टेले निकै सताउँछ भने कसैलाई छुँदा पनि छुँदैन। 

कतिपयले ठट्टा गर्दै 'मिठो रगत' भएका मानिसलाई लामखुट्टेले बढी टोक्ने बताउने गर्छन्। तर, वैज्ञानिक शोधहरूका अनुसार यसको पछाडि रगतको मिठास नभई मानिसको शरीरबाट निस्कने विभिन्न जैविक संकेत र रसायनहरू जिम्मेवार हुन्छन्।

बीबीसीमा प्रकाशित एक रिपोर्टका अनुसार लामखुट्टेले आफ्नो शिकार पहिचान गर्न मुख्यतया तीनवटा कुराहरू कार्बन डाइअक्साइड, शरीरको तापक्रम र छालाको गन्धलाई आधार बनाउँछन्।

 केवल पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्ने गर्छन्, किनभने उनीहरूलाई आफ्नो अण्डा विकसित गर्न मानव रगतमा हुने प्रोटिनको आवश्यकता पर्दछ। 

उनीहरूले करिब १० मिटर टाढाबाटै आफ्नो निशाना चिन्न सक्छन्।
लामखुट्टेलाई आकर्षित गर्ने पहिलो मुख्य कारक हामीले सास फेर्दा बाहिर फाल्ने कार्बन डाइअक्साइड हो। वयस्क मानिसले बालबालिकाको तुलनामा बढी सीओटु उत्सर्जन गर्ने हुनाले उनीहरू लामखुट्टेको प्राथमिकतामा पर्छन्। त्यस्तै, गर्भवती महिलाहरू लामखुट्टेको टोकाइको जोखिममा दुई गुणा बढी हुन्छन्। गर्भावस्थामा शरीरको मेटाबोलिजम बढ्ने र सास फेर्ने मात्रा बढी हुने हुनाले उनीहरूले बढी ताप र सीओटु बाहिर फाल्छन्, जसले लामखुट्टेलाई 'चुम्बक' ले झैँ आकर्षित गर्छ।
शारीरिक व्यायाम गरिरहेका वा पसिना आएका मानिसहरू पनि लामखुट्टेको निशानामा सजिलै पर्छन्। व्यायाम गर्दा शरीरको तापक्रम बढ्ने र पसिनासँगै अमोनिया र ल्याक्टिक एसिड जस्ता रसायनहरू बाहिर निस्कने हुँदा लामखुट्टेले उनीहरूलाई टाढैबाट पहिचान गर्न सक्छन्।

तर, सबैभन्दा महत्त्वपूर्ण कारक भनेको मानिसको छालाको गन्ध र त्यसमा रहने 'ब्याक्टेरिया' हरू हुन्। शोधकर्ताहरूका अनुसार हाम्रो छालामा ५०० भन्दा बढी प्रकारका वाष्पशील जैविक यौगिकहरू हुन्छन्। जसको छालामा 'कार्बोक्सिलिक एसिड' को मात्रा बढी हुन्छ, उनीहरूलाई लामखुट्टेले बढी मन पराउँछन्। यो विशेषता वंशाणुगत हुने र जीवनभर प्रायः स्थिर रहने वैज्ञानिकहरूको भनाइ छ। 

छालामा रहने ब्याक्टेरियाको विविधता कम तर संख्या बढी भएका मानिसहरू पनि लामखुट्टेको बढी शिकार हुने गरेका छन्।

लामखुट्टेबाट बच्ने उपायका बारेमा चर्चा गर्दै विशेषज्ञहरूले लसुन खाने वा भिटामिन बीका सप्लिमेन्ट लिँदा लामखुट्टे भाग्छन् भन्ने कुरा केवल 'भ्रम' मात्र भएको स्पष्ट पारेका छन्। यसको सट्टा 'डीट' वा 'पिकारिडिन' युक्त मलम वा स्प्रे प्रयोग गर्न, शरीर पुरै ढाक्ने कपडा लगाउन र पसिना आउँदा पुनः औषधि प्रयोग गर्न सुझाव दिइएको छ।

कतिपय मानिसहरू आफूलाई मात्र धेरै लामखुट्टेले टोकेको महसुस गर्छन्, तर वास्तविकतामा उनीहरूको शरीरले लामखुट्टेको र्‍यालप्रति गर्ने प्रतिक्रिया (सुन्निनु वा चिलाउनु) कडा हुने भएकाले यस्तो लागेको हुन सक्छ। 

केही मानिसलाई टोक्दा खासै प्रतिक्रिया नहुने तर केहीलाई भने निकै चिलाउने र ठूलो डाबर आउने हुनाले पनि कसैलाई बढी टोकेको जस्तो देखिने वैज्ञानिकहरूको विश्लेषण छ।

salt training

कमेन्ट गर्नुहोस्