
फिफा विश्वकपको नकआउट चरणमा प्रभावशाली प्रदर्शन गर्दै कोलम्बिया अन्तिम–१६ मा प्रवेश गरेको छ ।
चर्को गर्मीबीच कन्सास सिटीमा खेलिएको खेलमा जोन आरियसले १४औँ मिनेटमा गरेको निर्णायक गोलको मद्दतले कोलम्बियाले घानालाई स्तब्ध: बनाउँदै प्रतियोगिताबाट बाहिर पठाएको हो ।
नेस्टर लोरेन्जोको प्रशिक्षणमा रहेको दक्षिण अमेरिकी टोली कोलम्बियाले अब अन्तिम–१६ टोलीबीचको भिडन्तमा भ्यानकुभरमा स्विट्जरल्यान्डको सामना गर्नेछ ।
कोलम्बियाको यो जितले अब क्वार्टरफाइनलमा अर्जेन्टिनासँगको सम्भावित ‘हाइ–भोल्टेज’ भिडन्तको ढोका पनि खोलेको छ ।
खेलको नतिजा १–० मा सीमित रहे पनि कोलम्बियाले सिर्जना गरेका अवसरहरू हेर्दा जीतको अन्तर अझ फराकिलो बन्न सक्थ्यो ।
अर्कोतर्फ, घानाको विश्वकप यात्रा निकै निराशाजनक रूपमा समाप्त भएको छ । घानाले यो खेलमा पोस्टमा एउटा पनि गतिलो प्रहार गर्न सकेन ।
अझ रोचक र दयनीय तथ्य त के हो भने, घानाले यो विश्वकपका चार खेलमा केवल चार पटकमात्र विपक्षीको गोलपोस्टमा गतिलो प्रहार गर्न सक्यो, जुन यो विश्वकपमा कुनै पनि टोलीको सबैभन्दा खराब प्रदर्शन हो ।
खेलको शुरूआत निकै तनावपूर्ण र अस्त–व्यस्त रह्यो । खेलको १० मिनेटभित्रै दुवै टोलीले चोटका कारण खेलाडी परिवर्तन गर्नुपर्यो ।
कोलम्बियाका जोन कोर्डोबाले ग्रोइन समस्याका कारण मैदान छाडेपछि लुइस सुआरेज मैदान प्रवेश गरेका थिए ।
यसैगरी, घानाका अनुभवी खेलाडी मार्विन सेनाया ‘ह्यामस्ट्रिङ’ समस्याका कारण मैदानबाट बाहिरिएपछि अलिडु सेइडुले उनको स्थान लिए ।
खेलको १४औँ मिनेटमा यही परिवर्तन निर्णायक साबित भयो । लुइस सुआरेजले दायाँ भागबाट गरेको उत्कृष्ट क्रसलाई डिफेन्डरले मार्क गर्न नसक्दा जोन आरियसले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।
खेल अवधिभर कोलम्बियाले निरन्तर दबाब बनाइरह्यो । लुइस डियाज र सुआरेजले केही राम्रा अवसर गुमाए भने घानाका गोलरक्षक लरेन्स जिगीले पटक–पटक सुन्दर बचाउ गर्दै गोलअन्तर थप बढ्न दिएनन् ।
दोस्रो हाफमा डियाजको गोललाई अफसाइडका कारण मान्यता दिइएन । खेलको अन्त्यतिर घानाले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।
यो हारसँगै विश्वकपको अन्तिम–३२ बाट बाहिरिने घाना सातौं अफ्रिकी टोली बनेको छ । अब अफ्रिकाबाट मोरक्को र इजिप्टमात्र उपाधि होडमा बाँकी छन् ।
कोलम्बियाले अब आफ्नो लयलाई निरन्तरता दिँदै जुलाई ७ तारिखमा स्विट्जरल्यान्डको सामना गर्नेछ । बलियो टोलीका रूपमा देखिएको कोलम्बिया अब अर्जेन्टिनासँगको क्वार्टरफाइनल भिडन्तको लक्ष्यसहित मैदानमा ओर्लने छ ।
यो खेलसँगै जारी विश्वकपको अन्तिम–३२ टोलीबीचको भिडन्त पनि सकिएको छ । अब शनिबार रातिदेखि नै अन्तिम–१६ टोलीबीचको रोमाञ्चक खेल शुरू हुनेछ ।
चारपटकको च्याम्पियन जर्मनी, ‘टोटल फुटबल’को प्रणेता नेदरल्यान्ड्स, सन् २०१८ को उप–विजेता र सन् २०२२ को ‘सेमिफाइनलिस्ट’ क्रोएसियाजस्ता बलिया टोलीको यात्रा अन्तिम–३२ मै टुंगियो ।
लामो यात्रा तय गर्दै प्रि–क्वार्टरफाइनलसम्म पुगेका १६ टोलीले अब उपाधि यात्रामा थप एक खुड्किलो माथि उक्लिन आपसमा घम्सा–घम्सी गर्नेछन् ।
अन्तिम–१६ टोलीबीचको पहिलो भिडन्त शनिबार राति २२:४५ बजे आयोजक क्यानडा र अफ्रिकी ‘पावर हाउस’ मोरक्कोबीच हुनेछ ।
यसैगरी, क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्स र पाराग्वे तथा ब्राजिल र नर्वे आपसमा भिड्ने छन् । अर्को खेल इङ्ल्यान्ड र मेक्सिकोबीच हुनेछ ।
पूर्वच्याम्पियन स्पेनले रोनाल्डोको टोली पोर्चुगलको सामना गर्नेछ भने आयोजक अमेरिका युरोपेली प्रतिद्वन्द्वी बेल्जियमसँग भिड्ने छ ।
यसैगरी, लियोनल मेसीको नेतृत्वमा रहेको साविक विजेता अर्जेन्टिनाले इजिप्टसँग भिडन्त गर्नेछ भने स्विट्जरल्यान्ड र कोलम्बिया आमने–सामने हुनेछन् ।