
फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आज राति स्पेन र बेल्जियमबीच प्रतिक्षित भिडन्त हुँदैछ। चालू प्रतियोगितामा अहिलेसम्म पराजित नभएका यी दुई टोलीबिचको यो खेल लस एन्जलस स्टेडियममा नेपाली समय अनुसार आज राति १२:४५ बजे शुरू हुनेछ।
विश्वकपमा स्पेनको रक्षापङ्क्ति (डिफेन्स) यति मजबुत देखिएको छ कि अहिलेसम्म कुनै पनि विपक्षी टोलीले स्पेनविरुद्ध एक गोल पनि गर्न सकेका छैनन्। विश्वकपको इतिहासमा यी दुई टोली तेस्रो पटक आमनेसामने हुन लागेका हुन्।
स्पेन र बेल्जियमबीच हालसम्म २२ वटा अन्तर्राष्ट्रिय खेलहरू भएका छन्, जसमा स्पेनको पल्ला भारी देखिएको छ। स्पेनले १२ खेलमा जित दर्ता गरेको छ भने बेल्जियमले ५ खेल मात्र जितेको छ। बाँकी ५ खेल बराबरीमा सकिएका छन्।
विश्वकप इतिहासको कुरा गर्दा यी दुई टोलीबिच यसअघि भएका दुई भिडन्तमा दुवैले एक–एक जित बाँडेका छन् । सन् १९८६ को विश्वकपमा बेल्जियमले पेनाल्टी सुटआउटमा स्पेनलाई ५-४ ले पराजित गरेको थियो। सन् १९९० को विश्वकपमा स्पेनले बेल्जियममाथि २-१ को जित दर्ता गरेको थियो ।
विश्वकपमा स्पेनले ५ खेल खेल्दा ४ जित र १ बराबरीको नतिजा निकालेको छ। समूह चरणमा उसले साउदी अरबलाई ४-० र उरुग्वेलाई १-० ले हरायो भने काबो भर्डेसँगको खेल ०-० को बराबरीमा सकियो। त्यसपछि नकआउट चरणको राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले पाखा लगाएको स्पेनले, राउन्ड अफ १६ मा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलको टिकट काटेको हो।
अर्कोतर्फ, बेल्जियम पनि यस विश्वकपमा अझैसम्म हारेको छैन। उसले ५ खेलमा ३ जित र २ बराबरी खेलेको छ। समूह चरणमा न्युजिल्यान्डलाई ५-१ ले हराएको बेल्जियमले इरानसँग ०-० र इजिप्टसँग १-१ को बराबरी खेलेको थियो। राउन्ड अफ ३२ मा सेनेगलमाथि ३-२ को रोमान्चक जित निकालेको बेल्जियमले राउन्ड अफ १६ मा आयोजक अमेरिकालाई ४-१ को फराकिलो अन्तरले स्तब्ध पार्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
आजको खेलमा स्पेनका १८ वर्षीय युवा स्टार विङ्गर लामिन यमालमाथि सबैको नजर रहनेछ। उनले यस प्रतियोगितामा १ गोल गरिसकेका छन्। यद्यपि, उनले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न अझै बाँकी रहेको विश्लेषकहरू बताउँछन्। आज बेल्जियमको बलियो डिफेन्स तोड्ने मुख्य जिम्मेवारी यमालकै काँधमा हुनेछ।
अर्कोतर्फ, बेल्जियम आफ्ना अनुभवी स्टार मिडफिल्डर केभिन डी ब्रुइन र स्ट्राइकर रोमेलु लुकाकुको जोडीको भरमा स्पेनको 'अभेद्य' रक्षापङ्क्ति तोडेर गोल गर्ने दाउमा हुनेछ।
तथ्याङ्क र हालको लयलाई हेर्दा आजको खेलमा स्पेनको पल्ला केही भारी हुने अनुमान गरिएको छ, तर बेल्जियमको उच्च फर्मले खेललाई निकै रोमान्चक र कडा प्रतिस्पर्धात्मक बनाउने निश्चित छ ।