बङ्गलादेशको कक्स बजारस्थित विश्वकै ठूलो शरणार्थी शिविरमा भारी वर्षाका कारण बुधबार गएको पहिरोमा परी सात बालबालिका र एक शिक्षकसहित आठ जनाको मृत्यु भएको छ।
कक्षा सञ्चालन भइरहेका बेला विद्यालयको अस्थायी संरचनामा पहिरो खसेपछि हिलोमा पुरिएका बालबालिकाको शव उद्धारकर्मीले लामो प्रयासपछि निकालेका थिए।
बङ्गलादेशका शरणार्थी राहत तथा स्वदेश फिर्ती आयुक्त मोहम्मद मिजानुर रहमानले घटनामा सात बालबालिका र एक शिक्षकको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार चार जनाको घटनास्थलमै र अन्य चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
सन् २०१७ मा म्यानमारमा भएको सैन्य कारबाहीपछि भागेर आएका १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी कक्स बजारका विभिन्न शिविरमा बसोबास गर्दै आएका छन्।
शरणार्थीहरू बसोबास गर्ने अधिकांश शिविर पहाडी तथा भिरालो क्षेत्रमा अवस्थित छन्। जङ्गल फँडानी गरी बनाइएका यस्ता क्षेत्रमा मनसुनका बेला भारी वर्षा हुँदा पहिरोको जोखिम बढ्ने गरेको छ।
यसअघि सोमबार राति पनि तीनवटा छुट्टाछुट्टै शिविरमा गएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको थियो।
बङ्गलादेशको बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले आगामी चार दिनसम्म भारी वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ।
रोहिङ्ग्या शरणार्थी प्रतिनिधि सैयद उल्लाहले जोखिमयुक्त क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्न र नयाँ बसोबास क्षेत्रको व्यवस्था गर्न आग्रह गरेका छन्। उनले शरणार्थी शिविर व्यवस्थापनमा पर्याप्त समन्वय नहुँदा यस्ता दुर्घटना दोहोरिएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घले रोहिङ्ग्या सङ्कटलाई विश्वकै सबैभन्दा ठूलो र लामो समयदेखिको शरणार्थी सङ्कटमध्ये एकका रूपमा वर्णन गरेको छ।