
चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी बी०३ (B03) (चीनमा A10) चाँडै नेपाली बजारमा आउने भएको छ ।
नेपालका लागि लिपमोटरको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्स प्रालिले पहिलो B03 चीनबाट नेपालतर्फ प्रस्थान गरिसकेको जनाएको छ ।
पहिलो पटक ग्वान्झाउ अटो शोमा सार्वजनिक गरिएको B03 नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित इलेक्ट्रिक एसयूभी हो । यसमा १०० किलोवाट क्षमताको फ्रन्ट–ह्विल–ड्राइभ मोटर जडान गरिएको छ, जसले २०० एनएम टर्क उत्पादन गर्छ ।
गाडीमा १८ इन्चको एलोय ह्विल, १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, लेभल–२ एडास (ADAS) ड्राइभर असिस्टेन्स प्रणाली तथा ५१० लिटर क्षमताको बुट स्पेसजस्ता सुविधा उपलब्ध छन् ।
सांग्रिला मोटर्सका अनुसार B03 नेपालमा दुईवटा भेरियन्टमा उपलब्ध हुने अपेक्षा गरिएको छ । ती भेरियन्टमा ब्याट्री क्षमता र केही सुविधामा भिन्नता रहने जनाइएको छ ।
चीनमा A10 नामबाट बिक्री भइरहेको यस मोडलले सकारात्मक बजार प्रतिक्रिया पाएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यस वर्षको जुन महिनामा मात्रै लिपमोटरले ९३ हजार ३७६ युनिट बिक्री गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाली बजारमा पनि B03 किफायती इलेक्ट्रिक एसयूभी खण्डमा बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ ।
लिपमोटर स्टेलान्टिस संयुक्त उद्यमद्वारा समर्थित विद्युतीय सवारी ब्रान्ड हो । कम्पनीका अनुसार स्टेलान्टिस समूहअन्तर्गत मसेराटी, जीप र प्युजोसहित १४ वटा अटोमोबाइल ब्रान्ड आबद्ध छन् ।
लिपमोटरले विश्वभर १५ लाखभन्दा बढी विद्युतीय सवारी बिक्री गरिसकेको तथा ४० भन्दा बढी देशमा १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा रहेको जनाएको छ ।