
जनकपुरधाम – सीके राउतले बिखण्डनकारी गतिविधि त्यागेको सरकारी दाबीबीच उनका कार्यकर्ताले जनकपुरमा ‘मधेश देश लेके रहेंगे’ लगायत नाराबाजी गरेका छन् ।
सरकारसँग ११ बुँदे सहमति गरेपछि पहिलो पटक जनकपुर पुगेका राउतकै सामुन्ने उनका कार्यकर्ताले बिखण्डनकारी नाराबाजी गरेका छन् । कार्यकर्ताले नाराबाजी गरिरहँदा सीके राउत भने मौन देखिएका थिए । सीके राउतले जनकपुर विमानस्थलमा पत्रकारसँग पनि कुराकानी गरेनन् ।
‘फ्रि मधेश’ लेखिएको झण्डा बोकेर राउतको स्वागतका लागि विमानस्थलमा भेला भएका स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताले हिन्दी भाषामा ‘नेपाली उपनिवेश मुर्दावाद ! मधेश देश लेके रहेंगे, स्वतन्त्र मधेश गठबन्धन जिन्दावाद ! सीके राउत जिन्दावाद !’ लगायत नारा लगाएका छन् ।
सीके राउत कार्यकर्ताको जुलुससहित विमानस्थलबाट बाहिरिएका छन् । विमानस्थलमा सीके राउतको सुरक्षाका लागि ८ जना गार्ड समेत पुगेका थिए ।
सीके राउतका पछिल्ला गतिविधि र सरकारसँग भएको सम्झौताबारे आइतवार प्रतिनिधिसभा बैठकमा समेत छलफल भएको छ । बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राउतले बिखण्डनकारी गतिविधि त्यागेको दाबी गरेका छन् । तर सम्झौतापछि पनि राउतका गतिविधि शंकास्पद देखिएका छन् ।