२८ जेठ २०८३, बिहीबार

एसियाली खेलकुदको छनोट क्रिकेटमा नेपाल च्याम्पियन, फाइनलमा हङ्कङलाई हरायो

जेठ २५, २०८३
काठमाडौं
एसियाली खेलकुदको छनोट क्रिकेटमा नेपाल च्याम्पियन, फाइनलमा हङ्कङलाई हरायो

सिंगापुरमा सोमबार सम्पन्न एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।

नेपालले वर्षाबाट प्रभावित फाइनलमा हङ्कङलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि कुम्ल्याएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ११.३ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १४ रन बनाएपछि वर्षा शुरू भएको थियो ।

त्यसपछि लामो समय वर्षा नरोकिएकाले नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले विजयी घोषित गरिएको हो ।

वर्षाका कारण खेल स्थगित हुँदा नेपालका लागि रोहित पौडेल २४ बलमा एक छक्का र तीन चौकाको मद्दतले ३५ रन बनाउँदै क्रिजमा थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरी पनि चार बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै क्रिजमा थिए । ऐरीले आफ्नो ट्वान्टी-२० अन्तर्राष्ट्रिय ‘करियर’मा यही खेलमार्फत १०० खेल पूरा गरेका छन् ।

सन् २०१८ जुलाई २९ तारिखमा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो ट्वान्टी-२० आई खेलेका उनले आज भएको हङ्कङविरुद्धको खेलमा १०० खेल पूरा गरेका हुन् ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले पनि ६५ रनको योगदान गरे ।​​ कुशलले केवल ४० बलको सामना गरी तीन छक्का र आठ चौका पनि हिर्काए । अर्का ओपनर आसिफ शेख भने पहिलो बलमै पेभेलियन फर्किएका थिए ।

कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतकको सँख्या १५ पुर्‍याएका हुन् । २९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा शतक पनि बनाएका छन् ।

यो छनोट प्रतियोगितामै उनले दुईवटा शतक बनाए । कुशलले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अर्धशतकको संख्या २४ पुगेको छ । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि दुई शतक र नौवटा अर्धशतक बनाएका छन् ।

त्यसअघि, हङ्कङका लागि ओपनर अंशुमन रथले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । विकेटकिपर ब्याट्सम्यान शाहिद वासिफले पनि अर्धशतक बनाए ।

अनुभवी ब्याट्सम्यान अंशुमनले टोलीका लागि ८० रनको योगदान गरे । लामो समय क्रिजमा टिकेका उनले ४५ बलमा ६ छक्का र ६ चौका पनि हिर्काए ।

विकेटकिपर ब्याट्सम्यान शाहिद वासिफले पनि टोलीको खातामा ५५ रन थपे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल २८ बलको सामना गरी तीन छक्का र सात चौका हिर्काए ।

शिव माथुरले पनि टोलीको खातामा २६ रन थपे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २१ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे ।

नेपाली टोलीका बलर शेर मल्ल एक्लैले चार विकेट लिए । उनले चार ओभरमा ३२ रन खर्चिए । करण केसीले पनि दुई विकेट हात पारे । सन्दीप लामिछानेले पनि एक विकेट कुम्ल्याए ।

यो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोली नेपाल, हङ्कङ, मलेसिया र ओमान यसअघि नै आगामी एसियाली खेलकुदमा छनोट भएका छन् ।

प्रतियोगितामा मलेसियाले तेस्रो स्थानमा हासिल गर्‍यो । तेस्रो स्थानका लागि सोमबार नै खेलिएको खेलमा मलेसियाले ओमानलाई आठ विकेटले हरायो ।

एसियाली खेलकुदको २०औँ संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्