२९ जेठ २०८३, शुक्रबार
नारायणहिटी हत्याकाण्ड छानबिनको निर्णय

२५ वर्षपछि सुधन गुरूङले पुन: चर्चामा ल्याइदिए नसुल्झिएको त्रासदीपूर्ण हत्याकाण्ड

जेठ २६, २०८३
काठमाडौं
२५ वर्षपछि सुधन गुरूङले पुन: चर्चामा ल्याइदिए नसुल्झिएको त्रासदीपूर्ण हत्याकाण्ड

४८ दिनपछि दोस्रोपटक गृह मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै सुधन गुरूङले नारायणहिटी दरबार हत्याकाण्ड छानबिन गर्ने बोल्ड निर्णय गरेका छन् ।

तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको परिवारको वंशनाश हुनेगरी २०५८ सालको जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डको छानबिन गर्ने कुरा गरेर सुधनले नसुल्झिएको २५ वर्ष अगाडिको कहालीलाग्दो घटना स्मरण गराइदिएका छन् ।

दरबार हत्याकाण्ड छानबिन गर्न तत्कालीन सरकारले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिमा प्रतिनिधिसभाका तत्कालीन सभामुख तारानाथ रानाभाट र तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेका नेता माधव कुमार नेपाल सदस्य थिए ।

माधव नेपालले समितिमा नबस्ने घोषणा गरेपछि २ जनाले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनले तत्कालीन युवराज दीपेन्द्रलाई दोषी देखाएको थियो ।

प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा तत्कालीन सभामुख तारानाथ रानाभाटले दीपेन्द्रले प्रयोग गर्ने बन्दुक देखाउँदै ‘भटटट’ गोली चलेको बताएका थिए । छानबिन समितिको प्रतिवेदनलाई अपत्यारिलो भन्दै आलोचना भएको थियो ।

दरबार हत्याकाण्डलगत्तै तत्कालीन विद्रोही माओवादी नेता डा. बाबुराम भट्टराईले ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं’ शीर्षकमा लेख लेखेका थिए । रहस्यको गर्भमा रहेको दरबार हत्याकाण्ड सम्बन्धमा विभिन्न पुस्तकहरू पनि लेखिएका छन् ।

एक हप्ता अघिमात्र नारायणहिटी हत्या काण्डको २५ औं वर्षको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । गणतन्त्र स्थापना भएपछि कुनै सरकारले दरबार हत्याकाण्ड सम्बन्धी छानबिन गरेका थिएनन् ।

२०६५ सालमा गणतन्त्रपछि बनेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटीमा बनेको गणतन्त्र स्मारक उद्घाटनको क्रममा हत्याकाण्डको छानबिन गर्ने बताएका थिए । तर, त्यो अधुरै रह्यो ।

नारायणहिटी दरबार हत्याकाण्ड सम्बन्धमा अनेकथरी आशंका र टिप्पणी रहिआएका छन् । दरबार हत्याकाण्ड हुनेबेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले सो घटनालाई ‘ग्रायण्ड डिजाइन’को संज्ञा दिने गरेका थिए ।

वीरेन्द्रको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार भने सग्लो रहेको थियो । दरबार हत्याकाण्डको विषयलाई लिएर आफ्नो परिवारमाथि हुने गरेका टिप्पणीप्रति पूर्वराजा शाहले पटक-पटक खण्डन गरेका छन् ।

पछिल्लो पटक २०८० माघ १३ गते वीरगञ्जमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले आफ्नो परिवारमाथि घातक प्रहार भएको भन्दै गुनासो गरेका थिए ।

‘आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१९,२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो’ ज्ञानेन्द्रले भनेका थिए ।

त्यसलगत्तै माघ १५ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले सिमरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका थिए ।

‘ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस्, चाहे दरबार हत्याकाण्ड,’ प्रचण्डले भनेका थिए, ‘त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरू छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ ।’ 

नेपाली इतिहासको अत्यन्त रहस्यपूर्ण घटना छानबिन गर्ने मन्त्री गुरूङको घोषणाले फेरि एकपटक नारायणहिटी काण्ड चर्चामा आएको छ । यो विषय गृहमन्त्रीस्तरीय निर्णयबाट हुन्छ कि मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर भन्नेबारे भने गुरूङले केही खुलाएका छैनन् ।

नारायणहिटी दरबार हत्याकाण्डका कतिपय प्रमाण नष्ट भइसकेका छन् भने कतिपय व्यक्तिको निधन भइसकेको छ । तर, गृहमन्त्रीको घोषणाले देशभर नयाँ तरङ्ग सृजना भएको छ । 

यसअघि गृहमन्त्रीको पद सम्हालेको २४ घण्टा नपुग्दै जेनजी आन्दोलन दबाएको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए ।

यसपटक पनि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुरूङले भनेका छन्– ‘अब हरेक फाइल खोलिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्