
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले वर्षौंदेखि वकालत गर्दै आएको विषयमा ‘पासोमा परेको’ बताएका छन् ।
मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले विज्ञान तथा प्रविधिको विकासबिना देशको विकास सम्भव हुँदैन भनेर आफूले लामो समयदेखि आवाज उठाउँदै आएको स्मरण गरे ।
‘चाहना त अहिलेदेखि होइन, उहिलेदेखिको हो । यो नभइकन देश विकास हुँदैन भनेर काग कराएजस्तो कराउने मान्छे म नै हो,’ उनले भने, ‘अहिले त्यही पासोमा परियो ।’
मन्त्री पुनले आफूलाई भोलि के गर्नुहुन्छ भनेर नसोध्न आग्रह गरे ।
‘भोलि के गर्नुहुन्छ ? के छ प्लान भनेर नसोध्नुहोला,’ उनले भने, ‘दिमागले भ्याएजति, बुद्धीले भ्याएजति गर्ने हो । कसैको पनि दिमागमा सबै कुरा एकैपटक आउँदैन ।’
उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिएको कामको नतिजा तत्काल देखिन नसक्ने उल्लेख गर्दै दीर्घकालीन दृष्टिकोण आवश्यक पर्ने बताए ।
‘कम्तीमा विज्ञान–प्रविधिको विकास कति हुन्छ भन्ने देखाउन १० वर्ष लाग्छ,’ उनले भने ।
विज्ञान तथा प्रविधि क्षेत्रमा सरकारले अत्यन्त न्यून बजेट विनियोजन गरेको भन्दै पुनले असन्तुष्टि पनि व्यक्त गरे ।
‘एक प्रतिशत बजेट परेको छ । यो बजेटले दशैँमा राम्रोसँग टीका लगाउन पुग्छ,’ उनले व्यंग्यात्मक टिप्पणी गरे ।
लामो समयदेखि अनुसन्धान, नवप्रवर्तन र प्रविधिको विकासका पक्षमा सक्रिय पुनलाई प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
पुन गत निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।