०७ साउन २०८३, बिहीबार
गगनमाथि खनिए संस्थापनइतर नेता

गगनको खुट्टामा बीपीको होइन सेनाको जुत्ता रहेछ- जितजङ्ग बस्नेत

साउन ६, २०८३
काठमाडौं
गगनको खुट्टामा बीपीको होइन सेनाको जुत्ता रहेछ- जितजङ्ग बस्नेत

नेपाली कांग्रेसका नेता एवं तरुण दलका पूर्वअध्यक्ष जितजङ्ग बस्नेतले सभापति गगन थापाको खुट्टामा बीपी कोइरालाको नभएर सेनाको जुत्ता रहेको टिप्पणी गरेका छन् ।

बुधबार  ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित संस्थापन इतरको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सभापति थापाले यसअघि भनेको प्रसङ्गमा उक्त टिप्पणी गरेका हुन् ।

सभापति थापाले केही समय पहिले कांग्रेसभित्रको विवादका विषयमा आफूले बीपीको जुत्तामा खुट्टा हालेको अभिव्यक्ति दिएका दिए । सोही प्रसङ्गलाई कटाक्ष गर्दै बस्नेतले भने, ‘गगनजीले एउटा कुरा भन्नुभो- मैले बीपीको जुत्ता लगाएको छु भनेर । मैले बेलुका यसो बिचार गरेँ, बीपीको जुत्ता त होइन रहेछ । आज देश सैनिकीकरणतिर गएको छ, त्यो भद्रकालीको सेनाको जुत्ता लाको हो कि भन्ने मलाई याद आयो । इतिहासले प्रश्न उठाउँछ- उहाँले पार्टी फुटाउनका लागि अथवा विशेष अधिवेशनबाट निर्वाचन आयोग र न्यायालयमा जे जे हर्कत गर्नुभयो त्यसका लागि प्रश्न उठ्छ ।’

बस्नेतले आफूहरू अहिले पनि एकताकै पक्षमा रहेको बताए । तर, उपसभापति विश्वप्रकाश शर्माले १५ औं महाधिवेशनबाट गगन नै सर्वसम्मत सभापति हुने बताएको भन्दै बस्नेतले आफूहरूलाई एकताका लागि छेकिएको टिप्पणी गरे ।

‘उपसभापति विश्वप्रकाश शर्माले १५ औं महाधिवेशनमा गगन नै सर्वसम्मत सभापति हुने भनेर दिएको अन्तर्वार्ता सुनेँ । त्यो भनेको के हो ? हामीलाई छेकेको हो कि होइन ? हामी त एकताकै पक्षमा छौं’, बस्नेतले भने, ‘एकताबद्ध भएर गयौं भने  हाम्रो तर्फबाट पनि पार्टी सभापति लडिएला । पार्टीको केन्द्रीय समिति, पदाधिकारीहरू लडिएला । त्यही भएर उहाँलाई (गगन थापालाई)फेरि सर्वसम्मत गराउनका (सभापति) लागि नै आज एकता अवरुद्ध भएको छ ।’

उनले पार्टीभित्र एकता हुन नसके राष्ट्रिय भेला गरेर अघि बढ्नुपर्ने बताए । उनले आजै राष्ट्रिय भेलाको घोषणा हुने विश्वास समेत व्यक्त गरे ।

राष्ट्रियसभा सदस्य समेत रहेका बस्नेतले शिर झुकाएर, आत्मसम्मान मारेर एकता नहुने उल्लेख बताए ।

‘एकता-एकता-एकता !, एकता गर्ने हो तर एकता के शिर झुकाएर गर्ने हो ? आत्मसम्मान मारेर गर्ने हो ? एकता त सम्मानका लागि गर्ने हो । लोकतन्त्र बचाउने हो भने एकता गर्नैपर्छ तर एकता हुन सक्दैन भने के हामी घरमै सुत्ने हो त ?’, बस्नेतले भने, ‘हामी राजनीतिक प्राणी हो । राजनीति गर्ने हो नि ! यो देश र जनताका लागि राजनीति गर्‍या होइन ? यो देश बनाउनुछ भनेर राजनीति गर्‍या होइन ? त्यसका लागि आगामी दिनमा राष्ट्रिय भेला गरेर अगाडि बढ्नुपर्छ । बढेन भने दुर्भाग्य हुन्छ । यो देशको पनि दुर्भाग्य हुन्छ, हाम्रो पनि दुर्भाग्य हुन्छ र नेपाली जनताको पनि दुर्भाग्य हुन्छ ।’

उनले नेताहरूलाई खुट्टा नकमाउन अनुरोध गरे । हुन्छ भने एकता गर्ने तर भएन भने अघि बढ्न सक्नुपर्ने बस्नेतको भनाइ छ । 

‘एकता गरौं, एकता भएन भने अगाडि बढौं । हामी तपाईंहरूको साथमा छौं । सबै नेताहरूलाई दरिलो खुट्टा बनाएर आजकै दिनमा राष्ट्रिय भेलाको घोषणा गर्नुहुन्छ भनि मैले विश्वास लिएको छु । राष्ट्रिय भेला गरौं । राष्ट्रिय भेलाले जे निर्णय लिन्छ, त्यही अनुसार अघि बढौं’, बस्नेतले थपे । 

salt training

कमेन्ट गर्नुहोस्