
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा समस्या समाधानमा तेस्रो पक्षको मध्यस्थता नखोजिएको स्पष्ट गरेका छन् । सुगौली सन्धिको बेलाका केही प्रमाण भए बेलायतसँग सहयोग लिने कुरा गरिएको उनको भनाइ छ ।
भारतको ३ दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि आइतबार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले सीमा समस्या समाधान गर्न तेस्रो पक्षको मध्यस्थता आवश्यक नभएको बताएका हुन् ।
'लिपुलेक मानसरोवर यात्राको बाटो खोलेपछि नेपालको तर्फबाट कूटनीतिक नोट पठाइसकेको थियो, भारतको तर्फबाट जवाफ आएको छ । त्यसमा अडान राखेका छौं,' मन्त्री खनालले भने, 'सीमासम्बन्धी विषय कूटनीतिक माध्यम र स्थापित संयन्त्रका माध्यमबाट समाधान गर्ने नेपालको पोजिसन हो ।'
प्रधानमन्त्री वालेनद्र शाह (बालेन)को भनाइको आशय पनि कूटनीतिक ढंगले समाधान गर्ने रहेको उनले स्पष्टीकरण दिए । यसअघि बालेनले इङ्ल्यान्डको प्रसंग निकालेपछि भारतले तेस्रो पक्षको संलग्नतालाई अस्वीकार गरेको थियो 'हाम्रा अडानमा स्पष्ट छौं, ऐतिहासिक प्रमाणका आधारमा सीमा समस्या समाधान गर्ने कुरा हो,' मन्त्री खनालले भने, 'नेपाल–भारत एक ठाउँमा बसेर कुरा गर्न सक्दैनन् भने विश्वका अरू कुन देश सक्लान् ? वार्तामा बसेर कुरा राख्न सरकार सक्षम छ ।'
मन्त्री खनालले सीमा समस्या समाधानमा तेस्रो पक्षको संलग्नता आवश्यक नरहेको दिल्लीमा पत्रकारहरूलाई बताएका थिए । 'तेस्रो पक्षको मध्यस्थता खोजेको होइन, हाम्रो सीमा सुगौली सन्धिबाट निर्धारण भएकोले त्यस्ता डकुमेन्ट चाहिन सक्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको हो,' मन्त्री खनालले भने, 'अहिले हामीसँग सुगौली सन्धिको कपी छैन, राष्ट्रिय अभिलेखालयमा रहेका डकुमेन्टको अध्ययन गर्दैछौं । प्रमाणित कपी नभएकोले बेलायतका लाइब्रेरीमा छन् भने हेर्न सकिन्छ भन्ने कुरा हो ।'
अबका केही महिनामा उच्चस्तरीय भ्रमण
परराष्ट्रमन्त्री खनालले अबको केही महिनामा नेपाल र भारतबाट उच्चस्तरीय भ्रमण हुने बताए । आफ्नो भ्रमणसँगै २ वर्षदेखि रोकिएको औपचारिक उच्चस्तरीय भ्रमणको शुरूआत भएको र आगामी दिनमा भारतबाट पनि हुने उनले बताए । 'दुई देशबीच झण्डै दुई वर्षदेखि औपचारिक उच्चस्तरीय भ्रमण नभएको थियो, मेरो भ्रमणको शुरूवात भएको छ,' खनालले भने, 'अबका केही महिनामा दुवै देशबाट यस्ता उच्चस्तरीय भ्रमण हुनेछन् । यताबाट पनि उताबाट पनि उच्चस्तरीय भेटघाट भ्रमण हुनेछन् ।'
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी शुक्रबार नयाँ दिल्ली गएका थिए ।