काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना कम्युनिस्ट नेताहरूको नामै लिएर एकता प्रक्रियामा आउन अपिल गरेका छन् ।
समाजवादी पार्टी नेपालबाट नेकपा प्रवेश गरेका पूर्व नयाँ शक्ति खेमाका नेताहरूलाई स्वागत गर्न पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रवार आयोजित कार्यक्रममा प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, मोहनविक्रम सिंह, चित्रबहादुर केसी, नारायणमान विजुक्छे, नेत्रविक्रम चन्द विप्लव लगायतको नामै लिएर यस्तो अपिल गरेका हुन् ।
नेपाली कम्युनिस्ट आन्दोलन लामो समयदेखि तीन धारमा चलेको र हाल दुईवटा स्कूल (दुई धार)लाई मर्ज गरेर एउटा विश्वविद्यालय बनाएको भन्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनको अर्को धारलाई पनि एकताबद्ध हुन अपिल गरे ।
'दुईवटा स्कूल मर्ज गरेर एउटै विश्व विद्यालय बनाएका छौं,' प्रचण्डले भने, 'बाँकी कमरेडहरू पनि छिटोभन्दा छिटो आउनुस् ।'
'पुराना पिँडीका केही नेताहरूलाई कसरी सम्मान गर्ने होला, के सम्मान गरे राष्ट्रको एकताका निम्ति, कम्युनिस्ट आन्दोलनको एकताका निम्ति उहाँहरू आउनुहोला भनेर मलाई चिन्ता लागिरहन्छ,' प्रचण्डले भने, 'कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन के सम्मान गरे उहाँहरू खुशी हुनुहुन्छ, उहाँहरूले हामीलाई भन्दिएहुन्थ्यो, त्यसमा हामी केही कन्जुस्याइँ गर्दैनौं ।'
मोहनविक्रम सिंह तथा चित्रबहादुर केसीको नाम लिएर शुरू गरेका प्रचण्डले थपे– 'भक्तपुरमा रोहितजी हुनुहुन्छ, उहाँ एउटा धारा हो । उहाँ पनि यहाँ हुनुपर्छ जस्तो लाग्छ । मोहन वैद्यजीलाई धेरैजसो पत्रकारले मेरो गुरू भन्ने गर्नुहुन्छ । सम्मान छ, उहाँप्रति । उहाँलाई कसरी बुझाउने होला भन्ने लाग्छ । प्रचण्डले बाटो बिरायो म चाहिँ सच्याउँछु भनेर विप्लवजी लाग्नुभएको छ । त्यो बाटो गलत छ । कम्युनिस्टकै सरकार भएका बेला सामाजिक न्याय र समृद्धिका लागि उहाँहरूले सघाउनुपर्ने पो हो ।'
प्रचण्डले समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको विज्ञताको अर्थ र महत्त्व कम्युनिस्ट पार्टीभन्दा बाहिर गएर स्थापित हुन नसकेको पनि बताए ।
शुक्रवार पार्टी प्रवेश गरेका नेताहरूलाई सम्बोधन गर्दै प्रचण्डले भने– 'उहाँहरूको नेतृत्व गरेर नयाँ बनाउँछु भनेर लाग्नुभएका बाबुरामजीको बौद्धिकताले महत्त्व अन्त गएर छैन । कम्युनिस्टमा भएर मात्र उहाँको बौद्धिकताको अर्थ हुन्छ । कम्युनिस्ट पार्टीमा हुँदा धेरै ठूलो भूमिका महत्त्व थियो,' प्रचण्डले भने, 'सबै कम्युनिस्टलाई आ-आफ्नो ठाउँबाट एकताबद्ध हुन अपिल गर्दछु ।'