
उहानमा रहेका विद्यार्थीका अभिभावक भन्छन्, ‘छिटो उद्धार गरेर नेपाल ल्याइयोस्'
अभिभावकहरूले चीनको उहान सहरमा रहेका आफ्ना आफन्त विद्यार्थीलाई तत्काल स्वदेश ल्याउन सरकारसँग माग गरेका छन्।
चीनमा रहेका नेपाली कोराना भाइरसबाट संक्रमित नभएको खबर सार्वजनिक भइरहेका बेला अभिभावकहरुले आफन्तलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका हुन्।
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा अभिभावकहरुले आफ्ना सन्तान संकटबाट गुज्रँदा आफूहरु निकै ठूलो पीर र मर्कामा परेको बताएका छन्।
चीनमा रहेकी विद्यार्थीकी अभिभावक सोमीला कक्षपतिले भनिन्, 'चीनमा रहेका नेपाली कोहीपनि यो भाइरसबाट संक्रमित छैनन् भन्ने खबर छ तर सरकारले उनीहरुले नेपाल ल्याएकाे छैन। चाँडाे ल्याइयाेस् ।’
चीनको उहानमै ईन्टर्नल मेडिसिन अध्ययनरत डा सुमन श्रेष्ठले आफू जनवरी २ तारिखमात्रै काठमाडौं आएको बताए। उनले भने, ‘नेपाल सरकारले कुनै संकोच नमानीकन नेपालीहरुलाई स्वदेश फर्काउनुपर्छ । त्यहाँ रहेका नेपालीहरु कोही पनि संक्रमित छैनन् । तर, उहाँहरुलाई नेपाल ल्याउनको लागि सरकार डराएको छ ।’
चिकित्सक डा प्रकाश कँडेलले पनि संक्रमित नहुँदै सरकारले उद्धार गर्नुपर्ने बताए।
राजपाका ३ सांसदले सभामुखलाई दिए लिखित राजीनामा, योजनाको भुक्तानी गराउन धम्की !
२नम्बर प्रदेश सभाका राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित सांसदले आइतवार सभामुख सरोजकुमार यादव यादवसमक्ष राजीनामा बुझाए ।
राजपाबाटै सांसद निर्वाचित भएर सभामुख बनेका यादवलाई नै सांसदको राजीनामा दिएपछि उनी झस्किए । आइतवार प्रदेशको नामाकरणबारे छलफल गर्ने समितिको बैठक बोलाइएको बेला राजपाका सांसदको राजीनामा आएको हो ।
राजपा सांसद बिक्की यादव, नेत्रविक्रम शाह, डा. रिना यादवले सभामुख यादवलाई राजीनामा बुझाएपनि सभामुखले सम्झाइबुझाई गरेर राजीनामा फिर्ता गराएका छन् । सांसदको राजीनामा आएपनि आफूले सम्झाइबुझाई गरेर फिर्ता गराएको सभामुख यादवले लोकान्तरलाई बताए । ‘सांसदहरूले लिखित राजीनामा ल्याएर आउनुभयो, सम्झाइबुझाई गरेपछि फिर्ता लिनुभयो,’ सभामुख यादवले भने ।
गत आर्थिक वर्षमा प्रदेश सरकारबाट सञ्चालित योजनाको भुक्तानी हालसम्म नभएको विषयमा प्रदेशमा विवाद रहेको छ । प्रदेशसभा सदस्यले भुक्तानी हुनुपर्ने माग राख्दै आएपनि सरकारले भुक्तानी गरेको छैन । भुक्तानीको विषयमा दबाब सिर्जना गर्न आफूहरूले सभामुखलाई भेटेको सांसद डा. रिना यादवले बताइन् ।
‘राजीनामा दिएको होइन । हामी संघर्ष गरिरहेका छौं, संघर्षका कार्यक्रम गर्दैछौं । ४–५ दिनको अल्टिमेटम दिन्छौं, माग पूरा नभए मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्छाैं,’ यादवले भनिन् । योजनाको भुक्तानीको विषयलाई लिएर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको छ ।
कोरोनाको त्रास : वाइडबडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै
सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ ।
चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक/दुई दिनभित्रै आफ्नो वाइडबडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ ।
चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । 'हामी (निगम) आन्तरिक तयारीमै छौं, सरकारले निर्णय गर्नासाथ वाइडबडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौं,' उनले भने ।
मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइडबडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ । निगमले पनि नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइडबडी जहाज पठाउने वचन दिइसकेको छ ।
निगमको वाणिज्य विभागका अनुसार वाइडबडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ । वाइडबडी जहाज पठाउँदा करीब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ ।
कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीको जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइडबडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए ।
उनले भने, 'चीनमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने विषयमा छलफल भएको छ, हाम्रोतर्फबाट तयारी भएकै छ, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारी गरिरहेकै छ, अब यो विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, त्यसपछि सबै काम सहज, सुलभ र व्यवस्थित ढङ्गले अघि बढ्छ ।'
यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपालको निजी क्षेत्र र चीन सरकारको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सको जहाजलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो तर चीनबाट नेपाल ल्याउनका लागि हिमालयको जहाज प्रयोग गर्नेबारे औपचारिक छलफल नभएको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बताइन् ।
हिमालयले चीनमा उडान गर्ने सबै गन्तव्यका उडान स्थगित गरिसकेको छ । पछिल्लो पटक गत गत माघ २४ गते बेइजिङको पूर्वनिर्धारित अन्तिम उडान गरेको थियो । यात्रुको अवस्था र व्यावसायिक बजारलाई मध्यनजर गरी ‘सेडुअल उडान’ गर्न सकिने कम्पनीले जनाएको छ ।
पर्यटनमन्त्री योगेशकुमार भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावका सम्बन्धमा हालै पर्यटन क्षेत्रसँग सरोकार भएका निकायसँगको छलफलका क्रममा चीनमा रहेका नेपाली ल्याउन निगम र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको बताएका थिए ।
चीनको हुवेइ प्रान्तको वुहान प्रान्तबाट १८० नेपालीले स्वदेश र्फकन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ८०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीब २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।
प्रतिनिधिसभाको हालैको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सांसदले उठाएको प्रश्नको जिज्ञासामा सरकारले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको बताएका थिए । उनले कोरोना भाइरसको सङ्क्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको बताएका थिए ।
चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरूले आफूहरूको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।
मुना कार्की हत्या प्रकरण : हातमा डोरी बाँधिएको, घाँटीमा डाम र निधारमा चोट !
नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीको उपचारका क्रममा सोमवार निधन भएको छ ।
टाउकोमा गम्भीर चोट लागेकी उनको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
घरमा कामदारको आक्रमणबाट घाइते भएकी मुनालाई स्थानीयले बिहान १२ : १५ बजे अस्पताल पुर्याएका थिए ।
अस्पतालका निर्देशक डा. शहिल रुपाखेतीका अनुसार अचेत अवस्थामा अस्पताल पुर्याइएकी मुनाको हातमा डोरी बाँधिएको र घाँटीमा डाम देखिएको थियो ।
‘स्थानीयले फोन गरेपछि अस्पतालकै एम्बुलेन्सले अस्पताल ल्याएको थियो । ल्याउँदा मुटुको ढुकढुकी नै थिएन,’ डा. रुपाखेतीले लोकान्तरसँग भने ।
उपचारमा संलग्न अर्का एक चिकित्सकका अनुसार मुनाको निधारमा कुनै गह्रंगो वस्तुले प्रहार गरेजस्तो देखिन्छ । ‘अस्पताल ल्याउँदा धेरै रगत बगिसकेकाले बचाउन सकिएन,’ अस्पताल स्रोतले भन्यो ।
पति घरमा नभएको बेला मुनामाथि सोमवार बिहान कामदारले आक्रमण गरेका थिए । कार्कीको घरमा काम गर्ने कामदार घरभित्रै झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृत्युपछि अस्पतालमा पूर्व सचिव कार्कीका आफन्त र सानेपाका स्थानीयको भीड लागेको छ ।
महानगरीय प्रहरी प्रभाग सानेपाका इन्चार्ज इन्सपेक्टर कोशिस जोशीले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको लोकान्तरलाई जानकारी दिए ।