०१ साउन २०८३, शुक्रबार

वैदेशिक रोजगारीलाई चटक्कै छोडेर पशुपालनमा सुनिल, भन्छन्–पेशाप्रति आकर्षण बढाउन सहयोग गर्छु

वैदेशिक रोजगारीलाई चटक्कै छोडेर पशुपालनमा सुनिल, भन्छन्–पेशाप्रति आकर्षण बढाउन सहयोग गर्छु

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक युवाले रु एक करोड बढी लगानीमा पशुपालन शुरू गरेका छन् ।

छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याएका हुन् । 

व्यवस्थितरूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई  रहेका छन् । रोजगारीको सिलसिलामा दुई वर्ष जापानमा बिताएका श्रेष्ठले भिसाको म्याद छँदै स्वदेश फर्किएर पशुपालनमा लागेको बताए । धवलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन शुरू गरेका उनले अहिले रु एक करोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गरेका छन् । आगामी दिनमा लगानी बढाएर रु चार करोडसम्म पुर्‍याउने र धवलागिरिमै नमूना कृषि फार्म बनाएर देखाउने उनले योजना सुनाए । 

“विदेशमा गर्ने श्रम र दुःख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अठोट बोकेर फर्किएको थिएँ, कृषिमा राम्रो सम्भावना मैले जापान पुगेर देखेँ, गाईफार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको हुँ”, उनले भने ।
 
कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन शुरू गरेको उनले बताए । जापानमा गाईफार्ममा काम गरेको अनुभव सङ्गालेका श्रेष्ठले त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने बाटोमा अघि बढेको जानकारी दिए। वार्षिक रु तीन लाख बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनी जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै गरेको उनको भनाइ छ । गत पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याएका श्रेष्ठले यहाँ रु चार करोडसम्म लगानी गर्ने योजना बनाएको जानकारी दिए।

दुई सय उन्नतजातका भैँसी पाल्ने र धवलागिरिका तीन जिल्लाका सदरमुकामसम्म दूध पुर्‍याउने उनको योजना छ । भैँसी रु एक लाख ३० हजार र गाई रु ७० हजारका दरले खरीद गरेको उनले बताए । फार्ममा अहिले दैनिक ११० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध बागलुङबजारमा खपत हुने गरेको उनले बताए । 

भैँसी र गाईको हेरचाह र दानापानी खुवाउन तीन जना कामदार राखेका छन् । फार्मको क्षमतावृद्धिसँगै कामदार थप्दै जाने उनको योजना छ  । 'बृहत् खालको कृषि फार्म सञ्चालन गर्ने र युवालाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ', उनले भने । 

स्थानीयवासीको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उनको भनाइ छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालयलगायत स्थानीयवासीको सहयोग मिलेको उनले बताए । बागलुङबजारमा व्यापार/व्यवसाय गरेका एक युवा रत्नेचौरमा आएर नमूना कृषिफार्म सञ्चालन गर्नु उदाहरणीय कार्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए । वडाकै सहजीकरणमा खाली रहेको जग्गालाई भाडामा उपलब्ध गराउने काम गरेको उनले बताए । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडा कार्यालयले कार्यक्रम बनाएको उहाँको भनाइ छ । रत्नेचौरमा कृषिको राम्रो सम्भावना रहेको उनले बताए । कमल खत्री,रासस

salt training

कमेन्ट गर्नुहोस्