०७ असार २०८३, आइतबार

थरुहट मोर्चालाई सरकारले टेरेन, अल्टिमेटम गुज्रेपछि आन्दोलनमा

माघ २९, २०७६
थरुहट मोर्चालाई सरकारले टेरेन, अल्टिमेटम गुज्रेपछि आन्दोलनमा

दिइएको अल्टिमेटमप्रति सरकारले सुनुवाइको कुनै छाँट नदेखाएपछि थरुहट /थारुवान मोर्चा आन्दोलनमा उत्रिएको छ ।

मोर्चाले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी विहिबारदेखि आमरण अनसनसहितको आन्दोलनको कार्यक्रममा उत्रिन लागेको हो । मोर्चाले कैलालीको धनगढीस्थित गुरही चोक (क्याम्पस चौक)मा आमरण अनसन बस्ने जनाएको छ ।

मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले आफुहरुले सांसद रेशम चौधरीलगायतलाई जेलबन्दीको रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग गरेको बताए ।

तर सरकारले २० दिनसम्म कुनै सुनुवाई नगरेपछि आमरण अनसनसहितको आन्दोलनमा उत्रिएको संयोजक थारुको भनाइ छ । थारु समुदायको विभिन्न साांस्कृतिक झाँकीसहित अनसनमा बस्ने जनाइएको छ ।

मोर्चाका संयोजक थारुले शान्ति र सद्भावको लागि फागुन १ गतेदेखि आन्दोलनको घोषणा गरेको समेत बताए । उनले आफ्नै नेतृत्वमा आमरण अनसन बसिरहेको बताउँदै  फागुन २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गरिने र त्यतिले नभए फागुन ५ गतेदेखि ३ दिन आमहड्तालको घोषणा गर्ने चेतावनी दिए ।

यसैबीच यसैबीच संयुक्त खस क्षेत्री नेपालले मोर्चाको आन्दोलनप्रति ऐक्येवद्धता जनाएको छ ।

संयुक्त खस क्षेत्री नेपालका सुदूरपश्चिम अध्यक्ष रघुवीर ठगुन्नाले राज्य पुनःसंरचनाको क्रममा खसहरुलाई अन्यायमा पारेको दुखेसो सुनाए ।

आफुहरुलाई खसआर्य भनी एउटैमा राखेपछि अन्यायमा परेको बताउँदै उनले थरुहट आन्दोलनप्रति एक्येवद्धता जनाएको उल्लेख गरे ।

मोर्चाले १४ बुुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । माघ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सुदूरपश्चिम प्रदेश आफुहरुलाई अमान्य रहेको बताउँदै आएको मोर्चाले पहिचानको आधारमा १० जोड १ कायम गरी राज्यको पुनःसंरचना गरिनुपर्ने माग सारेको छ ।

थरुहट आन्दोलनको क्रममा २०७२ भादौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालकसहति ८ प्रहरीको ज्यान गएको थियो । भने ८० भन्दा बढी थारु समुदायको घर, पसल, एफएममा आगजनि गरिएको थियो ।

सो घटना घटनाको अभियोगमा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित २७ जना विरुद्ध विभिन्न मुद्धा चलायो । तर मोर्चाले राजनीतिक आन्दोलनको क्रममा घटना घटेको जनाउँदै राजनीतिक ढंगले नै समाधान खोजिनुपर्ने माग राख्दै आएको छ । साथै आफुहरुमाथि झुठ्ठा मुद्धा लगाएको मोर्चाको दाबी छ ।

कमेन्ट गर्नुहोस्