
नवनियुक्त आइजीपीलाई गृहमन्त्रीले भने, '५ वर्षमा हुन नसकेका काम ५ महिनामा गर्न सकिन्छ’
गृहमन्त्री रामबहादुर थापाले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने बताएका छन्।
आफूलाई भेट्न सिंहदरबार पुगेका नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई मन्त्री थापाले भने, ‘तपाईंको समय थोरै छ तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ ।’
गृहमन्त्री थापाले राज्यले विश्वास गरेर दिएको जिम्मेवारीलाई प्रहरी महानिरीक्षकले इमान्दारीका साथ निर्वाह गर्ने विश्वास व्यक्त गरे। ‘चुनौती थुप्रै छ, पूरा गर्न बाँकी रहेका कामलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ,’ गृहमन्त्री थापाले भने।
मन्त्रिपरिषद्को मंगलबारको निर्णयबाट प्रहरी महानिरीक्षकमा बढुवा भएका ज्ञवालीको कार्यकाल पाँच महिना मात्रै छ। भेटका क्रममा प्रहरी महानिरीक्षक खनालले मन्त्रालयको मार्गनिर्देशनका आधारमा इमान्दारीका साथ उच्च व्यावसायिकता प्रदर्शन गरिने प्रतिबद्धता जनाए।
व्यापार घाटामा झिनो सुधार - आर्थिक परिसूचक सकारात्मक
बितेका छ महिनामा निर्यातमा वृद्धि र आयातमा कमी आएका कारण व्यापार घाटामा क्रमशः सुधार हुँदै गएको छ भने चालु खाता घाटा आधा भएको छ ।
भुक्तानी सन्तुलन स्थिति पनि सुदृढ हुँदै गएको छ । विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएकाले समग्र वित्तीय प्रणालीमा स्थायित्व कायम भएको छ भने वित्तीय सेवाको पहुँचमा पनि केही विस्तार भएको छ ।
नयाँ कानून र विधि निर्माणपछि सरकारी वित्त व्यवस्थामा सुधार, आयातमा आएको ह्रास र नयाँ राजश्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट प्राप्त हुने राजश्व अपेक्षाकृत सङ्कलन हुन सकेको छैन भने समग्र बजेट कार्यान्वयनको गतिमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार पनि हुन नसकेको अर्थमन्त्रीले स्वीकार गरेका छन् ।
चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा आज आफ्नै मन्त्रालयमा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले विगत दुई वर्षदेखिको निरन्तर सुधारको प्रयासले समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक हुँदै गएका तथा आर्थिक वृद्धिदर उच्च रहँदै आएको र मुद्रास्फीति निश्चित सीमाभित्र नै रहेको दाबी गरे ।
बाह्य सहायता परिचालनतर्फ दातृ निकायको प्रतिबद्धता र बजेट सहयोग उत्साहजनक रूपमा बढ्दै गएको, लगानीमैत्री कानूनहरूको निर्माण र पारदर्शी एवं उद्योगमैत्री राजश्व नीतिका कारण निजी क्षेत्रको व्यावसायिक विस्तार भएको बताउँदै उनले केही खाद्यान्नबाहेक कृषि क्षेत्रमा भएको वृद्धि, औद्योगिक उत्पादनमा भएको विस्तार, होटललगायत पर्यटन पूर्वाधारमा बढेको लगानी, जलविद्युत् आयोजना, सडक, विमानस्थलजस्ता भौतिक पूर्वाधारको निर्माण तथा पुरातात्विक भवन, निजी आवास, विद्यालयसहित भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तीव्र गतिमा भएको, वित्तीय क्षेत्रको विस्तारले चालु आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिको निरन्तरता कायम भई बजेटले लक्ष्यित गरेको आर्थिक वृद्धिको नजिक पुग्न सक्ने सकारात्मकस्थिति उनले चित्रण गरे ।
पसलबाट १ सय १५ तोला सुन चोर्ने ४ भारतीय नागरिक पक्राउ
महानगरीय प्रहरी परिसर ललितपुरले १ सय १५ तोला सुनसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ललितपुरको श्रीबहालस्थित शाक्य ज्यासः भन्ने सुन पसलबाट माघ २१ गते राति २ बजेको समयमा ढोका फोरेर सेफ (सुनचाँदी राख्ने भाडो) सहित सुन चोरी भएको उजुरी शाक्य ज्यासःका तर्फबाट प्रहरीमा परेको थियो ।
पसलमा भएको सीसीटीभीले कैद गरेको फूटेजको माध्यमबाट प्रहरीले चोर पत्ता लगाई खोज्दै जाँदा थानकोट क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताए ।
१ जना महिला र ३ जना पुरुषसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको डीएसपी तामाङले बताए ।
ती भारतीय नागरिकहरू कालिमाटी क्षेत्रमा डेरा गरी बस्ने र उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
मुना हत्याकाण्ड : पूर्व सचिव कार्की र विजयका बुवाले अस्पतालबाट बुझे शव
ललितपुरको सानेपास्थित पूर्व सचिव अर्जुन कार्कीको घरमा भएको हत्यापछि आत्महत्या प्रकरणमा मृतक दुवैका परिवारले अस्पतालबाट शव बुझेका छन् ।
हत्या गरिएकी भनिएकी मुनाको शव उनका पति कार्कीले बुझेका छन् भने आत्महत्या गरेका भनिएका विजय चौधरीको शव उनका बुवा जानकी चौधरीले बुझेका छन् ।
ललितपुरको पाटन अस्पतालबाट दुवैका परिवारले शव बुझेर अन्त्यष्टिका लागि लगेको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।
मुनाको अन्त्यष्टि काठमाडौंमा गरिने छ भने चौधरीलाई परिवारले दाङ लगेको जनाइएको छ ।
मुना कार्की हत्याकाण्ड : विजय चौधरीका बुवा जानकी काठमाडौंमा, प्रहरीमा दिए जाहेरी
पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।
पूर्वसचिव कार्कीले मंगलवार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधवार जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन् ।
उनका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ । किटानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ ।
ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उनकी श्रीमती मुनाको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए ।
आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको चिकित्सकले बताएका छन् ।
महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक ल्याबको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने प्रहरी उपरीक्षक सिंहले बताइन् ।
उनीहरूको मोबाइललगायत सामग्री अनुसन्धानका लागि पठाइएको समेत सिंहले बताइन् । चौधरी सानैदेखि सोही घरमा कामदारका रूपमा बसेका थिए । रासस
माधव नेपाल र बाबुरामविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
मन्त्रिपरिषद्कै निर्णयको जगमा टेकेर ललिता निवासको जग्गा हिनामिना भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र डा. भट्टराईविरुद्ध पनि मुद्दा चलाउन रिटमा माग गरिएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
भूमाफिया, कर्मचारीदेखि प्रस्ताव लैजाने मन्त्री समेत गरी १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपनि तत्कालीन प्रधानमन्त्रीहरूविरुद्ध मुद्दा चलाइएको छैन । मन्त्रिपरिषद्का नीतिगत निर्णयमा मुद्दा चलाउन पाउने अधिकार अख्तियारलाई छैन ।
'निर्णयमा संलग्न प्रधानमन्त्री र मन्त्रीलाई र जग्गा फिर्ता दिएको हुनाले अभियोग दर्ता नगरेको भन्ने आधार उत्प्रेषणको आदेशले बदर गरी माथि उल्लेखित निर्णयमा संलग्न सबैलाई भ्र.नि.ऐन २०५९ को दफा ५९ (ग) र फौजदारी कार्यवीधिसंहिता २०७४ को दफा ३५ बमोजिम अभियोग पत्र दर्ता गर्नु भन्ने परमादेशको आदेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ,' वरिष्ठ अधिवक्ता न्यौपानेले बुधवार सर्वोच्चमा दायर गरेको रिटमा भनिएको छ ।
नागरिकलाई सिंहदरबार प्रवेश सहज बनाउन शान्ता चौधरीले संसद्मा सुझाइन् सजिलो उपाय
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले सर्वसाधारण नागरिकलाई सिंहदरवार प्रवेश सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा चौधरीले भनिन्, ‘देश संघीयतामा गएपछि पनि विभिन्न काम लिएर सिंहदरबार आउने क्रम जारी छ । सिंहदरबार आउने नागरिकलाई भित्रबाट पास दिनुपर्ने व्यवस्था छ । सुरक्षाको हिसाबले पनि यो व्यवस्था छ । अब निश्चित समयभित्र दिनको २ घण्टा नागरिकलाई सिंहदरबारमा प्रवेश दिनु न्यायोचित हुन्छ । समयको वचत हुन्छ । नेपाली नागरिकता या राष्ट्रिय परिचय पत्रको आधारमा प्रवेश दिँदा सिंहदरबार मेरो पनि हो भन्ने अनुभूति गराउन सकिन्छ ।’
'सभामुखको कुर्सीमा आँखा लाग्यो, कालो टीका लगाउनु पर्यो !'
सभामुखको कुर्सीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘आँखा लागेको’ भन्दै कुर्सीमा कालो टीका लगाउन सत्तापक्षका एक सांसदले माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शून्य समयमा नेकपाका विरोध खतिवडाले सभामुख निर्वाचित भएको भोलिपल्टदेखि नै सभामुखको विरोध शुरू भएकाले आँखा नलागोस् भनेर सभामुखको कुर्सीमा कालो टीका लगाउन माग गरेका हुन् ।
उनले कालो टीका लगाउने कुरालाई अन्धविश्वास मात्र भन्न नमिल्ने जिकिर गरे ।
उनले यस्तो अचम्मको माग राख्दा सांसदहरू हाँसेका थिए ।
क्रिकेट रंगशाला निर्माणका लागि सन्दीपले आजको खेलबाट ५३ हजार दिने
नेपाली स्पिनर सन्दीप लामिछानेले बुधवार भएको अमेरिकाविरुद्धको खेलमा ६ विकेट लिएका छन् ।
लामिछानेले सम्पन्न त्रिकोणात्मक सिरिज हुनुअघि आफूले लिने प्रतिविकेट ८ हजार ८ सय ४८ रुपैयाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि सहयोग गर्ने घोषणा गरेका थिए ।
उनले आजको खेलमा ६ विकेट लिँदा ५३ हजार ८८ रुपैयाँ धुर्मुस-सुन्तली फाउन्डेसनले नेतृत्व लिएर बनाइरहेको रंगशाला निर्माणका लागि सहयोगस्वरूप जानेछ ।
सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिए । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको उत्कृष्ट प्रदर्शन हो ।
नेपालले अमेरिकालाई ८ विकेटले हरायो, ५ ओभरमै विजयी लक्ष्य पूरा
आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।
बुधवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपाली ब्याट्स्म्यानले ५ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टाए ।
नेपाललाई जीत दिलाउन पारस खड्काले २० तथा दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकालाई नेपाली स्पिनहरूले १२ ओभरमा ३५ रनमा अलआउट गरे ।
अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन जोडे भने अन्य ब्याट्स्म्यानले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिए ।
यसैगरी सुसन भारीले ४ विकेट लिए ।