
अदालतबाट सफाइ पाएसँगै रिहा भएका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो मुलुकको स्वाधीनता रक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन्।
संसद सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका उनलाई जिल्ला अदालत काठमाडौँले सोमबार रिहा गरेको थियो।
रिहा भए पश्चात वक्तव्य जारी गर्दै महराले भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।’ नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहने उनले उल्लेख गरेका छन्।
महराले अन्ततः आफूमाथि लगाइएको आरोप गलत सावित भएको उल्लेख गर्दै भनेका छन्, ‘सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’
उनी ३० दिन प्रहरी हिरासत र १ सय ३ दिन डिल्लीबजार कारागारमा बसेका थिए।