
काठमाडौँमा तीन दिनसम्म चलेको ‘पृतनापति समन्वयात्मक बैठक मंगलबार सकिएको छ।
४ फागुनमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेको बैठकको मंगलबार प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गरेका हुन्।
प्रधानसेनापति थापाले राष्ट्रिय स्वार्थ र हितविरुद्ध हुनसक्ने कुनै पनि गतिविधि हुन नदिन निर्देशन दिए।
‘भइहाले पनि परिस्थितिलाई नियन्त्रणमा लिन प्रतिक्रियात्मक क्षमतासहित तयार रही राष्ट्रिय सुरक्षा सबल बनाउनु नेपाली सेनाको संवैधानिक जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘सो कार्यको लागि सदैव तयारी हालतमा रहनू पर्छ।’
उनले नेपाली सेनासँगको श्रोत र एकीकृत क्षमताको पक्षलाई संगठनको दीर्घकालीन हित हुने तवरले सोच्ने, अवधारणाको विकास गर्ने र कार्यान्वयनको लागि आफ्नो व्यक्तिगत स्वार्थभन्दा बाहिर आउनु पर्ने बताए।
समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौती एवम् सुझावको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यको प्रगती समीक्षा, मूल्याङ्कन र विश्लेषण भएको थियो।