०५ साउन २०८३, मंगलबार
कमिसनको अडियो प्रकरण

मन्त्रीबाट गोकुल बाँस्कोटाको राजीनामा : गुम्यो ओलीलाई दाहिने हातको साथ !

मन्त्रीबाट गोकुल बाँस्कोटाको राजीनामा : गुम्यो ओलीलाई दाहिने हातको साथ !

मन्त्रिमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा नजिकको र विश्वासपात्र कोही थिए भने ती हुन्, गोकुल बाँस्कोटा । 

बाँस्कोटा कतिसम्म प्रिय भने आफू बालुवाटार सरेपछि प्रधानमन्त्री ओलीले भक्तपुरको बाल्कोटस्थित निवासको साँचोसमेत उनैलाई नै सुम्पेका थिए । पुल्चोकस्थित मन्त्री निवासमा नबसेर बाँस्कोटा अहिले पनि ओलीकै निवासमा बस्दै आएका छन् ।

बाँस्कोटाप्रति ओलीको भरोसा यतिसम्म थियो कि दुई दिनअघि मात्र उनको गृहजिल्ला काभ्रे पुगेर ओलीले बाँस्कोटाको मुख हेरेपछि सरकारविरोधीहरू त्रर्सिने बताएका थिए ।

अरू बेलामा पनि ओलीले बाँस्कोटाको प्रशंसा गर्दै आएका थिए । 

हुन पनि मन्त्रिमण्डलका झण्डै २ दर्जन मन्त्रीमध्ये बाँस्कोटा एकमात्र यस्ता मन्त्री थिए, जसले बिहानदेखि बेलुकासम्म सरकारको कामको प्रतिरक्षा गरि नै रहे ।

पछिल्लो डेढ वर्षमा सबैभन्दा धेरै व्यंग्य र आलोचना पनि बाँस्कोटाकै भयो, तर उनले सरकारको प्रतिरक्षा गर्न छाड्नेन् ।

बुधवार मध्यरातिदेखि एउटा अपत्यारिलो जस्तो लाग्ने खबरले नेपालको राजनीतिलाई तरंगित बनायो– 'मन्त्री बाँस्कोटाले ७० करोडको बार्गेनिङ गरे ।'

‘लाचार’ बनेको आरोप लागिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गज्जबको मसला पायो ।

बिहान १० बजे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँस्कोटालाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै विज्ञप्ति प्रकाशित गरे । उनले मध्याह्न साढे १२ बजे पत्रकार सम्मेलन गरेर बस्खास्तगीको माग दोहोर्‍याए । 

दिउँसो १ बजे बाँस्कोटालाई मन्त्रीबाट बर्खास्त गर्न, ७० करोड बार्गेनिङ काण्डको छानबिन र सदनमा प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्‍यो ।

१ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दुई घण्टापछि बस्यो, जहाँ कांग्रेसले त्यही ३ वटा माग राखेर बैठक अवरुद्ध गर्‍यो । नेपाली कांग्रेसले यो विषयलाई उचाल्न खोजेको नेकपाको आरोप छ । 

कांग्रेसका सांसदले विरोध जनाइरहेको समयमा सभामुख अग्नि सापकोटाले सम्बन्धित मन्त्रीले राजीनामा गरेको अनैपचारिक जानकारी आएको घोषणा गरे । 

त्यसको केहीबेरमा मन्त्री बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको जानकारी समाजिक सञ्जाल ट्विटरमार्फत दिए ।

बिहीवार नै संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी पिन्टिङ प्रेस खरिदसम्बन्धी प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ । 

गोकुलको खरो स्वभाव : कसैलाई चिड्यायो, कसैलाई हौस्यायो !

सरकारको प्रतिरक्षा गर्ने क्रममा गोकुलले कहिलेकाहीँ प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भित्तामा पुर्‍याए भने कहिले पार्टीभित्रकै नेताहरूसँग जुहारी पर्‍यो ।

पछिल्लो समय नेता भीम रावलसँग उनको जुहारी परेको थियो, छाउपडी प्रकरणमा । 

‘प्रवक्ताको हैसियतमा उहाँले सरकारको भरमग्दुर बचाउको प्रयत्न गर्नुभयो, यो प्रवक्ताको मुख्य जिम्मेवारी थियो,’ प्रधानमन्त्री ओली निकट नेकपाका एक सांसदले लोकान्तरसँग भने, ‘उहाँको शैली कसैलाई मन पर्‍यो, कसैलाई परेन होला ।’ 

प्रधानमन्त्री ओलीसँग निकट रहेर राजनीति गरेका कारण बाँस्कोटाले पहिलोपटक निर्वाचित भएर आउनेबित्तिकै महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए । 

समाजवादी पार्टीले छाडेको र काठमाडौंबाट दुईपटक प्रत्यक्ष निर्वाचित राज्यमन्त्री रहँदारहँदै पनि ओलीले बाँस्कोटालाई नै शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए ।

बाँस्कोटाको राजीनामासँगै सञ्चार मन्त्रालयमा को आउला भन्ने उत्सुकता बढेको देखिन्छ । दुई मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।

छोटो समयमा उदाएर छिट्टै बिदा 

बाँस्कोटामाथि लागेको ७० करोड बार्गेनिङको आरोपको बारेमा स्वतन्त्र छानबिन होला/नहोला तर उनले नैतिकताको आधारमा राजीनामा दिएका छन् ।

छोटो समयमा उच्च ओहोदामा पुगेका बाँस्कोटाको कमिसन प्रकरणका कारण सम्मानजनक बहिर्गमन हुन पाएन ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे २ बाट प्रत्यक्ष निर्वाचित बाँस्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैत २ गते सञ्चार राज्यमन्त्री नियुक्त गरेका थिए । 

बाँस्कोटा ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ६९ मत पाएका थिए ।

केही समय राज्यमन्त्रीको रूपमा काम गरेपछि २०७५ जेठमा बाँस्कोटा मन्त्रीमा बढुवा भएका थिए ।

सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएपछि बाँस्कोटाले साप्ताहिकरूपमा बिहीवार सरकारका निर्णय सार्वजनिक गर्दै आइरहेका थिए ।

लामो समय पत्रकारिता गरेका र खरो स्वभावका बाँस्कोटाले सरकारको प्रवक्ताको हैसियतमा चर्चा कमाएका थिए । 

२०२७ साल भदौ १३ गते काभ्रेको मण्डनदेउपुरमा जन्मेका बाँस्कोटा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौ महाधिवेशनबाट विद्यार्थी राजनीतिमा होमिएका थिए ।

रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक गरेका बाँस्कोटा राजनीतिसँगै दुई दशकसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रहे ।

छलफल, दृष्टि र प्रकाश साप्ताहिकमा काम गरेका बाँस्कोटाले पछि आफैं सम्बोधन साप्ताहिक प्रकाशन गरेका थिए ।

मन्त्री बन्नुभन्दा अघिसम्म उनी सो पत्रिकाको प्रकाशक/सम्पादक थिए ।

तत्कालीन नेकपा एमालेनिकट पत्रकार संगठन प्रेस चौतारीको अवधारणाकार र संस्थापक समेत रहेका बाँस्कोटा नेपाल पत्रकार महासंघको सचिवको उम्मेदवार समेत बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्