
गोकुल बाँस्कोटाले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।
बिहीवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी दिएको हो ।
यसअघि बाँस्कोटाले सम्हालेको शहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ -
'आज मिति २०७6साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले सम्हाल्ने गरी तोक्नु भएको छ ।'
