
अमेरिकी जासूसी संस्थाका अधिकारीहरूले सदनका सदस्यहरूलाई रुसले सन् २०२० को निर्वाचन अभियानमा हस्तक्षेपको कोशिश गरिरहेको जानकारी गत साता दिएका छन् ।
डोनल्ड ट्रम्पलाई फेरि राष्ट्रपति बनाउन कोशिश गरिरहेको भनी उनीहरूले बताएपछि नेसनल इन्टेलिजेन्सका कार्यकारी निर्देशकलाई पदबाट अचानक हटाइएको छ ।
ट्रम्पले जासूसी अधिकारीहरूको ब्रीफिङ सुनेपछि कार्यकारी निर्देशक जोसेफ मग्वायरलाई बोलाएर बफादारिता नदेखाएको भन्दै बेस्सरी हप्काएका थिए भनी द वाशिङटन पोस्टले छापेको छ । त्यतिखेरसम्म मग्वायरलाई नेसनल इन्टेलिजेन्सको स्थायी निर्देशक बनाइने चर्चा थियो र उनका सहकर्मीहरूले पनि उनी पदमा रहिरहने अपेक्षा गरेका थिए ।
तर ब्रीफिङ आएपछि अनि ट्रम्पसँग मुखामुख गरेपछि उनलाई हटाएर ट्रम्पले जर्मनीका लागि अमेरिकी राजदूत रिचर्ड ग्रेनेललाई कार्यकारी निर्देशक बनाएका छन् । त्यस नियुक्तिलाई सिनेटको कन्फर्मेसन आवश्यक पर्दैन ।