
सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।
सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज त्यहाँ पुगेका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेका नेपालीसँग त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।
उनले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरेका हुन् ।
सांसद बस्नेतसँगको कुराकानीमा क्वारेन्टाइनमा रहेका नेपालीहरुले सरकारले गरेको व्यवस्था सन्तोषजनक रहेको बताए । उनीहरूले आफू सुरक्षित भएको र आवश्यक परेको कुनै पनि सामान तुरुन्त पाउने गरेकाले सन्तुष्ट भएको बताए ।
सांसद बस्नेतसँग उनीहरूले यहाँबाट निस्किएर परिवारसँग भेट्ने दिनमा सरकारी निकायका व्यक्ति, जनप्रतिनिधिनै आएर बिदाइ गरी देशभर सकारात्मक सन्देश फैलाउने व्यवस्था गरिदिन पनि आग्रह गरेका थिए ।
क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपालीले सरकारले गरेको व्यवस्थाप्रति खुशी भएको र यहाँको अवस्थामा कुनै पनि चिन्ता लिनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेको पूर्वमन्त्री एवं सांसद बस्नेतले बताए । उनलाई नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्थाबारेमा जानकारी गराएका थिए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भित्र रहेका नेपालीबाट कुनै पनि कुराको माग हुने बित्तिकै यहाँको सुरक्षाको नेतृत्व गरेका कर्णेल पौडेलले आफ्नै व्यक्तिगत खर्चसमेत गरेर भए पनि मागअनुसारको सामान पठाइदिने गरेको जानकारी गराए ।