
मुलुकका छट्टाछुट्टै स्थानमा भएका सवारी दर्घटनामा चार जनाकाे ज्यान गएकाे छ।
प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार राति र शनिबार चितवन, महोत्तरी र मोरङका विभिन्न स्थानमा सवारी दुर्घटना भएका हुन्।
चितवन: भरतपुर महानगरपालिका-१० बाईपासमा ना ६ ख १४७५ नम्बरको ट्रक र ना ३१ प ४५८५ नम्बरको स्कुटर शुक्रबार राति एकआपसमा ठोक्किएर दुर्घटना भएकाे छ। दुर्घटनामा स्कुटर चालक नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-३ धारापानीका सोबित घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटनामा गम्भीर घाइते भएका घर्तीमगरको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्तरी: महोत्तरी गाउँपालिका-३ मा गाडाको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी रौतहट विश्रामपुर नगरपालिका-१ बस्ने ६५ वर्षीया परेखनी देवीलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
मोरङ: पथरी शनिश्चरे नगरपालिका-२ स्थित जय चोकमा ना ८ ख ६७ नम्बरको रोकी राखेको ट्रकलाई प्रदेश नम्बर १-०२-००१ ख ८०९१ नम्बरको ट्रकले ठक्कर दिएकाे छ। शनिबार बिहान ठक्कर दिँदा ना ८ ख ६७ नम्बरको ट्रक चालक चितवन भरतपुर महानगरपालिका-११ बस्ने अजय अधिकारी र सहचालक अंकित जिएमको मृत्यु भएको हाे।
दुर्घटनामा ट्रक चालक अजयको घटनास्थलमै तथा गम्भीर घाइते भएका सहचालक अंकितको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।