२४ जेठ २०८३, आइतबार

सडक विभागले १० वर्षसम्म अलपत्र पारेको काम समयमै सकाउँदै नेपाली सेना

फागुन १९, २०७६
सडक विभागले १० वर्षसम्म अलपत्र पारेको काम समयमै सकाउँदै नेपाली सेना

नेपाली सेनाले भौतिक पूर्वाधारका ठूला र महत्त्वपूर्ण आयोजनाहरूमा काम गर्दै आइरहेको छ ।

अन्य ठेकेदारले समयमा काम नगरेर ठूल्ठूला आयोजना रुग्ण अवस्थामा रहिरहेका बेला सेनाले जिम्मेवारी पाएका प्रायः आयोजना समयमा नै सम्पन्न हुने गरेका छन् ।

नेपाली सेनालाई विद्यमान संवैधानिक व्यवस्थाअनुसार विकास निर्माणका काममा पनि राज्यका तर्फबाट प्रयोग गर्न सकिने भएकाले राष्ट्रिय गौरवका आयोजनाहरूमा समेत सेनाले काम गर्दै आएको रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो २ वर्षको प्रगति विवरण सार्वजनिक कार्यक्रममा बताएका थिए ।

त्यसक्रममा मन्त्री पोखरेलले भनेका थिए, ‘नेपाली सेनालाई किन सडक निर्माणको काम दिइयो भन्ने जिज्ञासाहरू पनि छन्, संवैधानिक व्यवस्थामा भएकाले नै राष्ट्रिय महत्त्वका आयोजनाको काम गर्दै आएको हो ।’

देशका महत्त्वपूर्ण आयोजनामध्ये एक कर्णाली कोरिडोरको काम पनि नेपाली सेनाले गर्दै आएको छ । 

कर्णाली कोरिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको खण्ड निर्माण सेनाले गर्दै आएको छ ।

१ सय २३ किलोमिटरको उक्त खण्ड निर्माणका लागि चालू आव २०७६/०७७ मा ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

हुम्लाको सिमीकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी सडक निर्माणको काम भइरहेको छ ।

चालू आवभित्रमा काम सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव शर्मा बताउँछन् ।

सडककोे कुल लागत २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ, जसमध्ये गत आवसम्ममा १ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको नेपाली सेनाले जनाएको छ ।

विक्रम संवत् २०७१ साल कात्तिकबाट उक्त आयोजना निर्माणको जिम्मा पाएकोमा हालसम्म १ सय १४ किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न भएको  प्रवक्ता शर्माले बताए ।

शर्माले भने, ‘नेपाली सेनाले जिम्मा पाएपछि विभिन्न क्लस्टर बनाएर काम शुरू गरेका थियौं, अहिलेसम्म १ सय १४ किलोमिटर सम्पन्न भएको छ ।’

आयोजना छिटो सम्पन्न गर्नका लागि सेनाले ३ वटा जिल्लामा ४ वटा क्लस्टर छुट्याएर काम शुरूवात गरेको थियो ।

कालिकोटको लालिघाट, बाजुराको लिथौचौर तथा हुम्लाको गल्फागार्डमा र खच्चामा क्याम्प राखेर काम भइरहेको साहयक रथि शर्माले लोकान्तरलाई जानकारी दिए ।

‘हामीले कालिकोट, बाजुरा र हुम्लाका २ ठाउँमा गरी ४ वटा क्याम्प राखेर काम शुरूवात गरेका थियौं, जसले गर्दा काम गर्न सजिलो भएको छ,’ उनले भने । 

कर्णाली कोरिडोरमा नेपाली सेनाले कालिकोटको फुगाड खोला र सन्नीगाड खोला, बाजुराको जुड्डी खोला र कुवाडी खोलामा ४ वटा पुल निर्माण सम्पन्न गरेको प्रवक्ता शर्माले बताए ।

२०५६ सालमा शिलान्यास भएको कर्णाली कोरिडोरको काम २०६६ सालसम्म शुरू समेत हुन सकेको थिएन । सडक विभाग आफैंले निर्माण गर्ने भन्दै १० वर्षसम्म आयोजनालाई अन्योलको स्थितिमा राखिएको थियो ।

नेपाली सेनाले २०७१ चैत ९ मा सडक निर्माणको जिम्मा पाएको थियो । कर्णाली कोरिडोरको कुल लम्बाई ६ सय ८२ किलोमिटर छ ।

यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालीकोट, हुम्लाको सिमीकोट हुँदै हिल्सासम्म जोडिने छ ।

सेनामा दक्ष जनशक्ति

दक्ष जनशक्ति, प्रविधि र अनुशासनमा रहेर काम गर्ने शैलीका कारण नेपाली सेनाले हरेक काम समयमा नै सक्ने पूर्वउपरथि बलानन्द शर्मा बताउँछन् ।

नेपाली सेनाले काम छिटो सक्नुमा ३ वटा कुराले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको उनले बताए ।

पहिलो नेपाली सेनामा रहेको चेन आफ कमाण्ड, जसले अनुशासनमा रहेर काम गर्न सिकाउँछ ।

दोस्रो भनेको नेपाली सेनाको दक्ष जनशक्ति हो । सडक निर्माण होस् या अन्य कुनै कामका लागि नेपाली सेनामा दक्ष जनशक्ति छ । बाहिरबाट ल्याउनु पर्ने, खोज्नु पर्ने आवश्यकता नभएकाले नै सेनाले काम समयमा नै गर्न सकेको हो ।

सडक निर्माणका लागि आवश्यक पर्ने बारुद (एक्सप्लोसिभ) सेनासँग मात्र छ । अन्य कम्पनीले काम गर्दा ठूल्ठूला पहाड फोर्नका लागि चाहिने बारुद ल्याउन झञ्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता छ, तर सेनालाई बारुद प्रयोगका लागि उक्त प्रक्रिया आवश्यक हुँदैन । सोही कारण पनि काम छिटो सम्पन्न गर्न मद्दत पुग्ने गरेको शर्मा बताउँछन् ।

जनताप्रति उत्तरदायी र अनुशासन

नेपाली सेनाले जनताप्रतिको उत्तरदायित्व र अनुशासनले गर्दा नै विकास निर्माणका काम छिटो समपन्न गर्ने गरेको नेपाली सेनाका प्रवक्ता साहयकरथि विज्ञानदेव शर्माको भनाइ छ ।

‘नेपाली सेना चेन अफ कमाण्डमा चल्ने संस्था हो । माथिबाट गर्नुपर्छ भनेपछि गर्नुपर्छ । हामीले तालिमबाट नै कामप्रतिको अनुशासन सिकेर आएका छौं,’ प्रवक्ता शर्माले लोकान्तरसँग भने ।

सरकारले दिएको आदेश र संविधानमा उल्लेख भएका कुरालाई नेपाली सेनाले मान्नुपर्ने साथै जनताप्रति जवाफदेही हुनुपर्ने उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्