२८ जेठ २०८३, बिहीबार

कोरोना सहायता कक्षमा १७८ जनाको स्वास्थ्य परीक्षण

फागुन १९, २०७६
कोरोना सहायता कक्षमा १७८ जनाको स्वास्थ्य परीक्षण
प्रतिकात्मक तस्वीर

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ ।

सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १७८ नागरिकको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरूपमा फागुन १० गते सहायता कक्ष स्थापना गरेका थिए ।

परीक्षण गरिएका कुनै पनि नागरिकमा कोरोना भाइरसको संक्रमण नभेटिएको उनले बताए । भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ ।

नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा २ जना स्वास्थ्यकर्मी खटाइएको छ । 

कोरोना भाइरसको संक्रमणबारे सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए । सहायता कक्षमा भारतबाट फर्किने नागरिकको ‘इन्फ्रारेड थर्मामिटर’ले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।

सहायता कक्षमा ज्वरो मापनका साथै २ हप्ता अघिसम्म चीन गए/नगएको बारेमा सोधपुछ गर्ने र रुघाखोकी लागे नलागेको बारेमा सहायता कक्षमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

अत्यधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले बताए ।

सीमाबाट फर्कने नागरिकमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्