
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । उनी सोमवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
आगामी बुधवार मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सन् २००८ मा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले १३ वर्षपछि पुनः मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् ।
प्रधानमन्त्री बस्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा सुरक्षा प्रबन्ध मजबुत बनाइएको छ ।
प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्न लागेको समाचार सार्वजनिक भएपछि विभिन्न व्यक्तिले उनलाई सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै ओलीको मिर्गौला प्रत्यारोपणमा सफलता र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई भगवान पशुपतिनाथको आशिर्वाद मिल्ने मोदीको विश्वास छ ।
यता उपराष्ट्रपति नन्दबहादुर पुनले सोमवार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
सोमवार विभिन्न दलका सांसदले प्रतिनिधि सभा बैठकमा ओलीलाई मिर्गौला सफल प्रत्यारोपणको कामना गरे ।
आइतवार बसेको नेकपा सचिवालय बैठकले पनि ओलीलाई मिर्गौलाको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेको थियो ।
डा. प्रेम ज्ञवाली नेतृत्वको चिकित्सकको टोलीले बुधवार ओलीको मिर्गौला प्रत्यारोपण गर्दैछ । प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने एक महिलाले मिर्गौला दिँदैछिन् ।
प्रत्यारोपणपछि ओलीले केही दिन अस्पतालमै आराम गर्ने अस्पताल स्रोतले जनाएको छ ।
यसअघि गत बिहीवार नेकपाको बाग्मती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा ओलीले ५ दिन अस्पताल बसेर छ्रैठौं दिनदेखि काममा फर्किने बताएका थिए ।
अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले सोमवार बिहान राष्ट्रिय योजना आयोगको बैठकको अध्यक्षता समेत गरेका थिए ।
उक्त बैठकले १५औं पन्ध्र वर्षीय योजनालाई स्वीकृत गरेको छ ।