इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीका सहयोगीको मृत्यु कोरोनाभाइरसका कारण भएको सरकारी सञ्चारमाध्यमले सोमवार जनाएको छ ।
७१ वर्षका मोहम्मद मिरमोहम्मदीको मृत्यु तेहरानस्थित अस्पतालमा भएको हो । इरानमा कोरोनाभाइरस संक्रमण फैलिँदै गएपछि शीर्ष अधिकारीहरू अस्पताल पुगेका छन् ।
मिरमोहम्मदीले आयातोल्लाहलाई सल्लाह दिने गरेका थिए र संसद्सँगको विवाद पनि सुल्झाउने गरेका थिए ।
इरानमा कोरोनाका कारण कम्तीमा ५५ जनाको मृत्यु भइसकेको छ ।
उपराष्ट्रपति मासूमेह एब्तेकर पनि बिरामी परेकी छन् ।
स्वास्थ्य राज्यमन्त्री इराज हरिर्चीलाई पनि कोरोनाभाइरसले लडाएको छ ।
इरानमा भाइरसका ९७८ केसहरू पुष्टि भइसकेका छन् तर उसले संक्रमणको वास्तविक संख्या लुकाएको आरोप लागेको छ ।