०९ असार २०८३, मंगलबार

प्रदेश लगानी सम्मेलन स्थगित,  मेला-महोत्सवमा पनि रोक

फागुन १९, २०७६
प्रदेश लगानी सम्मेलन स्थगित,  मेला-महोत्सवमा पनि रोक
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल।

प्रदेश सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको प्रदेश लगानी सम्मेलन स्थगन गर्ने भएको छ। 

विश्वभरि नै कोरोना  भाइरसको संक्रमण बढेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा रहेको अवस्थामा उच्च सतर्कता अपनाउन लगानी सम्मेलन हाललाई स्थगित गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए। 

प्रदेश सरकारले प्रदेशमा लगानीको वातावरण जुटाउन आगामी वैशाख ४ र ५ गते बुटवलमा लगानी सम्मेलन आयोजना गर्ने कार्यक्रम थियो। सम्मेलनमा भाग लिन स्वदेशी तथा विदेशी पाहुनासमेत आउने भएकाले कोभिड १९ भाइरसको सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सम्मेलन स्थगन गरिएको प्रवक्ता चौधरीले जानकारी दिए। सम्मेलनको अर्को मिति भने परिस्थिति सहज बनेपछि तय गरिने उनले जानकारी दिए।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणसँगै सतर्कता अपनाउन केन्द्र सरकारको सजगता तयारीलाई कार्यान्वयन गर्ने निर्णयसमेत गरेको प्रवक्ता चौधरीले जानकारी दिए। 

प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्लामा आयोजना हुने मेला महोत्सव तथा मानिस भेला हुने कुनै पनि खालका कार्यक्रममा रोक लगाउन निर्देशनसमेत दिने बैठकले निर्णय गरेको उनले जानकारी दिए। बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा सडक निर्माण, मर्मतसम्भार तथा बिस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। 

यस्तै सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालनसम्बन्धी विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्