१२ साउन २०८३, मंगलबार

धनगढी पुगेर नेपालले कार्यकर्तालाई भने-छाउपडीविरुद्ध नलागे ‘जय भन्दिन’

फागुन १९, २०७६
धनगढी पुगेर नेपालले कार्यकर्तालाई भने-छाउपडीविरुद्ध नलागे ‘जय भन्दिन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई छाउपडीविरुद्ध लाग्न आह्वान गरेका छन्।

नेकपाले सोमबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले त्यस्ता कूप्रथालाई समाजभित्रको अन्तरविरोधको संज्ञा दिँदै त्यसविरुद्ध लाग्न आग्रह गरे।

पार्टीको लागि अग्नि परिक्षा सुरु भएको बताउँदै उनले नेता कार्यकर्तालाई अध्ययन गर्न सुझाव दिएका छन्। पार्टी, सरकार र समाजमा क्वालिटी चाहिले बताउँदै उनले गुण नभएको कार्यकर्ताको के काम ? भन्दै योग्यता बढाउनको लागि मिहिनेत गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

‘अहिले कार्यकर्तामा अल्छी प्रवृति फैलिएको छ । पुस्तक पढ्दै नपढ्ने, अध्ययन गर्दै नगर्ने, माक्र्सवादको किताबको अध्ययन नगर्ने, हामीले त्यति धेरै किताब वितरण गरेका छैनौ । अब पार्टी स्कूलिङ विभागले किताब छाप्ला । किताब छापेर बाँडिसकेपछि किताबको पाना माथिदेखि तलसम्म पढ्ने र बुझ्ने काम हुनुपर्दछ । किताब लगेर तकियामुनि शिरानमा ढक्क निदाएर बस्ने होइन । किताब त लग्या छ, शिरानमुनि राख्या छ,’ उनले भने।

नेता नेपालले अध्ययन गरेर माक्र्सवाद, संसार, नेपाल र नेपाली समाजलाई बुझ्ने हुन समेत कार्यकर्ताहरुर्ला प्रशिक्षण दिएका छन् । 

‘नेपाली समाजको आजको अन्तरविरोध के हो ? हिजो समान्तवाद र दलाल नोकरशाही पूँजीवाद र जनताबीचको अन्तरविरोध थियो, समान्तवादलाई परास्त गरेका छौँ । हाल जनताको शासन ल्याएका छौ । अबको अन्तरविरोध समाजभित्रको शोसन, दमन, कुुप्रथा हो । छाउपडी प्रथा,’ सहभागी कार्यकर्तातर्फ औंला देखाउँदै भने, ‘यत्रो ठूलो संख्यामा हाम्रो नेता कार्यकर्ता आउनु भएको छ । तपाईहरु यो छाउपडी प्रथा विरुद्ध लाग्नु सक्नु हुन्न ? यदि लाग्नु सक्नु हुन्न भने तपाईहरुलाई जय भन्दिन । जयको उल्टो के हुन्छ ? धिक्कार हुन्छ।’

कुप्रथाविरुद्ध कार्यकर्ताहरुलाई आफ्नो घर परिवार, आफन्त, टोल, समाज, वस्ती, वडा, गाउँपालिका, नगरपालिकाभित्र सचेतनामूलक कार्यक्रमसहित अभियान चलाउन उनले निर्देशनात्मक आह्वान गरे।

प्रशिक्षण कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, केन्द्रीय सदस्य खगराज भट्टलगायतले बोलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्