
प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : अस्पतालले भन्यो– 'हिँडडुल गराउन थालेका छौं'
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको शिक्षण अस्पतालले जनाएको छ ।
मिर्गौला प्रत्यारोपणको तेस्रो दिन शुक्रवारको नियमित बुलेटिनमा अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको र आजदेखि हिँडडुल गराउन थालिएको उल्लेख गरेको छ ।
'मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिन, उहाँको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ । आजदेखि उहाँलाई हिँडडुल गराउन थालिएको छ । साथै ठोस आहार दिन थालिएको छ,' अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बुधवार शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए ।
प्रधानमन्त्री ओलीले गरे सल्लाहकारसँग कुराकानी : भने – ‘छिट्टै काममा फर्किन्छु’
मिर्गाैला पुनः प्रत्यारोपणपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सल्लाहकार विष्णु रिमालसँग कुराकानी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रियापछि पहिलोे पटक प्रधानमन्त्रीसँग कुरा गर्ने अवसर मिलेको सल्लाहकार रिमालले जनाएका छन् ।
शुक्रवार ट्विट गर्दै रिमालले प्रधानमन्त्रीले छिट्टै काममा फर्किने बताएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अबसर मिल्यो । ‘साथीहरूलाई भनिदिनस्, मेरो स्वास्थ्य तीब्रगतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु ।’
धेरै खुशी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !
सोमवार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधवार शल्यक्रिया गरिएको थियो । अस्पतालले ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।
सांसदलाई कोरोनाको त्रास : बैठक रोकौं, एक जनालाई मात्र संक्रमण भए हालत के होला ?
कोरोनाको संक्रमणबारे संसद्ले आवश्यक सजगता नअपनाएको भन्दै एक सांसदले संसद् बैठक नचलाउन माग गरेका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्ले सावधानी नअपनाएको भन्दै संसद्को बैठक बन्द गर्न माग गरेका हुन् ।
‘कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ, डाक्टरहरू यसको उपाय सचेतना नै हो भनिरहेका छन् । सरकार भन्छ– भीडभाडमा नजानू, भोजभतेर नगर्नू । हमी सांसदले कति सावधानी अपनाएका छौं । हामी भीडभाडमा जान्छौं, मन्त्रीले त सयौं सेवाग्राहीलाई भेट्छन्,’ सांसद यादवले भने, ‘संसद्मा स्वास्थ्य डेक्स छैन । संसद्भित्र प्रवेश गर्दा टेस्ट नगरी प्रवेश गर्छौं । मानौं कुनै मन्त्रीजी या सांसदलाई संक्रमण भएको रहेछ भने हाम्रो संसद्को हालत के होला ? कि पूर्ण तयारी गरेर संसद् चलाऔं या बन्द गरौं ।’
अन्य सांसदहरूले पनि कोरोनाको संक्रमणबाट बच्ने तयारीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार नै संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल समेत हुँदैछ ।
विनोद चौधरीले ग्लोबल बिजनेस समिटलाई सम्बोधन गर्ने, मोदीसँग भेटवार्ता तय
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले टाइम्स अफ इन्डियाद्वारा आयोजित ‘ग्लोबल बिजनेस समिट’लाई सम्बोधन गर्ने भएका छन् ।
विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिवार नयाँ दिल्लीमा आयोजना हुनेछ ।
समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ । टाइम्स अफ इन्डियाका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सातजना वरिष्ठ मन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
रक्षामन्त्री राजनाथ सिंह, वित्तमन्त्री निर्मला सीतारमण, विदेश मन्त्री एस जयशंकर, वाणिज्य तथा रेल मन्त्री पियुस गोयल, टेक्सटाइल मन्त्री स्मृति इरानी, नागरिक उड्ययनमन्त्री हरदीप पुरी र ऊर्जा मन्त्री आरके सिंहले समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
टाइम्स अफ इन्डियाले आज प्रकाशित गरेको समाचारअनुसार विश्वविख्यात कम्पनीका प्रमुख कार्यकारीहरू एवं विश्वमा बिजनेस, टेक्नोलोजी र सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वहरू ग्लोबल बिजनेस समिटका विशेष आकर्षणका रूपमा रहनेछन् ।
समिटमा ‘न्यू किङ अफवाल स्ट्रिट’का रूपमा परिचित स्टेफेन स्क्वार्जम्यानले दिगो विकास कसरी गर्ने भन्ने विषयमा बोल्नेछन् । महिला सशक्तीकरणको मुद्दालाई सशक्तरूपमा उठाउने अनेक अभिन्तामध्ये शेर्ल ब्लेयरको नाम विशेष छ ।
उनी पनि यस समिटको विशेष आकर्षण हुनेछिन् । ध्यानपूर्वीय दर्शनको अभिन्न अंग हो । त्यही ध्यानलाई नयाँ प्रविधिसँग जोडेर स्वस्थ समाज निर्माणमा लागिपरेका ‘हेडस्पेस’का सह–संस्थापक एन्डी पुडिकम्बले स्थिर र शान्त रहन सिकाउने छन् ।
र, आउन लागेको अस्थिर दशकको व्यापार व्यवसायबारे बोल्न भारतका शीर्ष सीईओहरू अजय पिरामल, सुनिता रेड्डी र सुनिल मञ्जलसँगै रोनी स्क्रुवाला, बोस्टन कन्सल्टिङ ग्रुपका एसिया–प्यासिफिक प्रमुख नीरज अग्रवाल र नेपालका एकमात्र अर्बपति विनोद चौधरी रहने टाइम्स अफ इन्डियाले जनाएको छ ।
अध्यक्ष चौधरीले शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने कार्यक्रम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीसँग गुजरातका मुख्यमन्त्री हुँदादेखि नै अध्यक्ष चौधरीको निकट सम्बन्ध रहँदै आएको छ ।
संसद्मा गगनको विशेष प्रस्ताव : कोरोनाबाट नागरिक त्रसित भए, सरकारी निकायको स्वर एउटै होस्
नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विभिन्न सरकारी निकायका फरक–फरक सूचनाले नागरिक त्रसित बनेको भन्दै कोरोनाका सम्बन्धमा सरकारले एउटै प्लेटफर्मबाट सूचना प्रवाह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको कामको अनुमगन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने प्रस्ताव समेत उनको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा कोरोनाविरुद्ध राष्ट्रिय संकल्प साथ अगाडि बढ्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै सांसद थापाले अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि भविष्यका लागि सतर्कता अपनाउनुपर्ने बताएका हुन् ।
‘कोरोना संक्रमणको बारेमा फरक–फरक कुरा आएको छ । सरकारले सभा सम्मेलन नगर्ने कुरा गरेको छ, स्कूल बन्द गर्ने प्रस्ताव पनि संसद्मा उठेको छ । नागरिकलाई सूचित गर्ने एउटै फोरम होस्, नागरिकहरू सचेत भन्दापनि त्रसित भइरहेका छन्,’ थापाले भने, ‘सरकारले एउटै प्लेटफर्ममार्फत मात्र बोल्नुपर्यो । स्वास्थ्य मन्त्रालयले मात्र बोल्ने र सबै सञ्चार माध्यमले त्यसैलाई फलो गर्नुपर्यो ।’
कोरोनाप्रभावित मुलुकबाट १ हजार ३ सय ७८ जानले नेपाल प्रवेश गरेका भएपनि उनीहरू कहाँ छन् भन्ने ट्र्याकिङ सरकारसँग नहुँदा जोखिम पहिचान गर्न नसकिएको उनको भनाइ छ ।
‘कुन देशबाट आउने नागरिकलाई पूर्ण रोक्ने हो, कुन देशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने हो र कुन देशबाट आएकालाई ट्र्याकिङमा राख्ने हो यो निर्णय गरौं,’ उनले भने, ‘नेपालबाट बिदेसिनेको पनि एउटै मापदण्ड बनाऔं । श्रम मन्त्रालयले एउटा कुरा गरेको छ, सांसदहरू जापान गइरहनुभएको छ, यसो नगरौं ।’
नेता थापाले आपूर्ति व्यवस्थामा आश्वस्त पार्न सरकारको ध्यानाकर्षण समेत गराए । ‘सरकारले आश्वस्त गर्नु पर्यको कि कहीँ पनि सप्लाइ चेनलाई प्रभावित नगरियोस् । नागरिकले सामान होल्डि गर्नुहोला, कालाबजारीलाई अनुगमन र कारवाही गर्ने कुरा गर्नुपर्छ,’ उनले भने ।
इरानमा अघिल्लो दिनसम्म कुनै संक्रमण नदेखिएको र भोलिपल्ट एकैदिन दुई जनाको मृत्यु भएको उदाहरण पेश गर्दै सांसद थापाले नेपालले ती अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।
‘भविष्यमा महामारी फैलियो भने आइसोलेसनका लागि खाली भएका होटल र स्कूल हेरौं । सेल्फ आइसोलेसनमा जाने व्यवस्था गर्नुपर्छ । क्रिटिकल केयरका लागि सामान किन्न स्वास्थ्य मन्त्रालयले तयारी थालोस्,’ उनले भने ।
अहिले सचेत रहने बेला रहेकाले जनतालाई नतर्साउन उनले आग्रह गरे ।
‘हामीले समय पाएका छौं, यो गोल्डेन टाइम हो । सुझबुझपूर्ण कुरा गरेमा आत्तिनु पर्दैन । तत्काल एक्सन प्लान ल्याउन सरकारलाई निर्देशन दिऊँ र सरकारी कामको अनुगमनका लागि संसद्बाट विशष समिति बनाऊँ ।’
'कोरोना भाइरस नपड्किएको एम्बुस जस्तो– परिवारमै आइसकेको भएपनि नपड्किँदासम्म थाहा नहुने'
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्वव्यापी रूपमा महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले उच्च सतर्कता अपनाइरहेको बताएका छन् ।
कोरोना भाइरसका सम्बन्धमा कांग्रेस सांसद गगन थापाले प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री ढकालले सरकारले ३ चरणको रणनीति तय गरी काम गरिरहेको बताएका हुन् ।
पहिला त कोरोना भाइरसलाई प्रवेश गर्नबाट नै रोक्ने, दोस्रोमा प्रवेश गरिहालेमा यसलाई फैलिन नदिने र उपचार गर्ने तथा तेस्रोमा जटिल अवस्था आएमा त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने हिसाबले रणनीति तय गरी सरकारले काम गरिरहेको उनको दाबी छ ।
कोरोना भित्रिन नदिनका लागि प्रभावित देशहरूबाट नेपाल भित्रिने सबैलाई चेकजाँच गरेर मात्र प्रवेश गराउने व्यवस्था गरिएको मन्त्री ढकालले बताए ।
कोरोना भाइसरविरुद्ध लड्नका लागि सरकारले सबैसँग हातोमाले गर्ने उनको भनाइ छ । 'आग्रह–पूर्वाग्रहमा नअल्मलिई सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार छ,' मन्त्री ढकालले भने ।
जुनसुकै बेलापनि कोरोनाको संक्रमण देखिनसक्ने खतरालाई मध्यनजर गर्दै सरकारले ७ वटा अस्पताललाई हब अस्पतालको रूपमा तयारी अवस्थामा राखेको र १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरिएको जानकारी पनि उनले दिए ।
देशभरका अन्य अस्पतालमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।
एक्कासि कोरोनाको संक्रमण फैलिएको खण्डमा होटल र सार्वजनिक स्थानहरूलाई समेत क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिने मन्त्री ढकालले बताए ।
'इरानको जस्तो थाहा नपाई भित्रियो भने स्वास्थ्य इमर्जेन्सी घोषणा गरेर पायकमा रहेका होटल र सार्वजनिक स्थानलाई पनि त्यो ढंगले विस्तार गर्नुपर्ने अवस्था आउनुपर्छ भन्ने कुरामा मेरो ध्यान गएको छ,' मन्त्री ढकालले भने ।
भारतले केही औषधिहरूको निर्यातमा रोक लगाएको सम्बन्धमा मन्त्री ढकालले त्यसलाई खुलाउनका लागि कूटनीतिक पहल भएको र भारतका तर्फबाट ती औषधि नरोक्ने आश्वासन प्राप्त भएको जानकारी पनि दिए ।
कोरोनाका सम्बन्धमा अहिले २ किसिमका अति देखिएको भन्दै मन्त्री ढकालले त्यसबाट समाजलाई बचाउनुपर्ने बताए ।
'एउटा यो केही पनि होइन भनेर उपेक्षा गर्ने र अर्को सबै सन्त्रास नै यही भइसक्यो भन्ने दुईवटै अतिबाट समाजलाई बचाउनुपर्छ,' मन्त्री ढकालले भने ।
मन्त्री ढकालले एक डाक्टरको भनाइ उद्धृत गर्दै कोरोना भाइरसलाई नपड्किएको एम्बुसको संज्ञा दिए ।
'कोरोना भाइसर कस्तो भन्दा एक डाक्टरले भन्नुहुन्थ्यो– नपड्किएको एम्बुसजस्तो ! ' मन्त्री ढकालले भने, 'तपाईं हाम्रो परिवारमै छ कि, छिमेकमा छ कि, कहाँ आइपुग्यो भन्ने कुनै अनुमान नभएको, पड्किँदा बल्ल थाहा हुने ।'
कोरोनाको यसकिसिमको संवेदनशीलयतालाई मध्यनजर गर्दै त्यही हिसाबले सावधानी अपनाइएको उनको भनाइ छ।
ललितपुरका औषधि पसलमा छापा, ३० को मास्कलाई १०० लिएको पाइएपछि जफत
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले रु ३० रुपैयाँ पर्ने मास्कलाई हाल रु एक सयमा बेच्ने गरेको पाइएको छ ।
सो फार्मेसीसँग खरीद बिल पनि नभएको पाइएको छ । सो पसलबाट छ थान मास्क जफत गरिएको छ ।
यसैगरी पाटन अस्पताल नजीकै सञ्चालित जिपिपी म्यानकाइण्ड प्रालिले कपडाको मास्क साधारण खरीदको बिलसमेत पसलमा नराखेको र रु २५ मा बेच्नुपर्नेमा रु ५० लिएर व्यापार गरेबापत अनुगमन समितिले २२ थान मास्क जफत गरेको छ । बजारमा मास्क तथा औषधिको मूल्य वृद्धि र अभाव भएसँगै उचित मूल्य निर्धारणका लागि आज १२ पसलमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रजिअ खेमप्रसाद भुसालले मुलुकमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको हुँदा आगामी दिनमा सञ्चालकलाई उचित मूल्य लिन तथा सबै वस्तुको खरीदको बिल, प्यान तथा भ्याट राख्न आग्रह गरे ।
अनुगमनमा समितिमा विभागका कर्मचारी रेवती ज्ञवाली, विष्णुप्रसाद शर्मा र विकल श्रेष्ठलगायत उद्योग वाणिज्य सङ्घ ललितपुरकी गीता न्यौपाने, प्रहरी प्रभाग लगनखेलका प्रहरी सहायक निरीक्षक राम शर्मा न्यौपाने थिए ।
सरकारले थाल्यो ‘मास्क’ पसलको अनुगमन – बढी मूल्यमा बेच्नेलाई ५ हजारदेखि २ लाखसम्म जरिवाना
कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरेको छ । कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार अनुगमनलाई तीव्रता दिइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार हालसम्म चारवटा सर्जिकल पसललाई ठूलो मात्रामा जरिवाना तोकिएको छ । अनुगमनका क्रममा अनुचित व्यापारिक कारोवार (बढी मूल्यमा सामान बिक्री वितरण) गरेको भेटिएपछि उनीहरुलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) को कसुरमा ३९ (१) (ख) अनुसार कारवाही गरिएको छ ।
बिहीबार बजार अनुगमनका क्रममा बढी मूल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री गरेको भेटेपछि वीर अस्पतालमा रहेको आयुष फार्मेसी र क्षेत्रपाटीमा रहेको आइज्याक फार्मेसीलाई रु दुई/दुई लाख जरिवाना गरिएको छ । त्यस्तै मङ्गलबार र बुधबारको बजार अनुगमनका क्रममा कमलपोखरीस्थित सिने स्टारको बिग मुभिजलाई रु दुई लाख ५० हजार र क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ ।
काठमाडौँको त्रिपुरेश्वर, क्षेत्रपाटी, कमलपोखरी, मण्डिखाटारलगायत क्षेत्रको बजार अनुगमनका क्रममा खरिद बिल नभेटिएको भन्दै अधिकांश फार्मेसी पसललाई रु पाँच हजारदेखि रु ५० हजारसम्म जरिवाना तोकिएको उनले बताए ।
विभागले बजार अनुगमनका क्रममा खरिद बिल देखाउन नसकेको भन्दै विभिन्न सर्जिकल तथा फार्मेसी पसललाई जरिवाना तोकेको छ । त्रिपुरेश्वरको गौतम इन्टरनेशनल र दृष्टि सर्जिकल हाउसलाई रु १०/१० हजार, भिजन मार्ट प्रालिलाई रु ५० हजार र मेडिहेल्थ सर्जिकल र स्वस्तिक सर्जिकल सप्लायर्सलाई रु २०/२० हजार जरिवाना गरिएको छ ।
त्यस्तै क्षेत्रपाटीको सचिन ट्रेड कन्सर्नलाई रु १० हजार, मण्डिखाटारको खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल सप्लायर्स र फिस्टेल सर्जिकल हाउसलाई रु पाँच/पाँच हजार जरिवाना तोकिएको छ । त्यस्तै बिहीबार क्षेत्रपाटीमा रहेको एसजे मेडिको सर्जिकलाई २० हजार र महाबौद्धमा रहेको आरएफ फार्मेसीलाई १० हजार जरिवाना गरिएको छ ।
दुवै पसलमा अनुगमनका क्रममा खरिद बिल नभेटिएपछि कारवाही गरिएको हो । ‘उपभोक्ताको उजुरी तथा विभिन्न मिडियामा मास्कमा कालोबजारीलगायत समाचार प्रकाशन तथा प्रसारण भएपछि बजार अनुगमनलाई तीव्रता दिइएको हो,’ महानिर्देशक सुवेदीले भने, ‘मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारवाही र जरिवाना दुवै गर्छौं ।’
सप्लायर्सले मास्क, स्यानेटाइजरलगायत सामग्रीको भण्डार गरेर (लुकाएर) राख्ने र बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ । कारवाही गरेका सबै सप्लायर्सहरुलाई विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरेको महानिर्देशक सुवेदीले जानकारी दिए ।