
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा राम्रो सुधार भएको जनाइएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले ओलीलाई नर्मल (सामान्य) खाना दिन थालिएको र हिँडडुल गराइरहेको जानकारी दिएका छन् ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गाैला प्रत्यारोपण गरिएको आज चौथो दिन । उहाँको स्वास्थ्य स्थितिमा राम्रो सुधार भइरहेको छ । उहाँलाई नर्मल खाना दिन थालिएको छ । सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको छ,’ अस्पताल परिसरमा पत्रकारलाई जानकारी दिँदै खड्गाले भने, ‘प्रधानमन्त्रीज्यूको मिर्गाैलादाता उहाँकी भान्जी श्रीमती समिक्षा संग्रौलाजीको पनि स्वास्थ्य अवस्था राम्रो सुधार भइरहेको छ । उहाँका पनि सबै सूचकहरू सामान्य अवस्थामा छन् । उहाँले पनि नर्मल खाना खानुको साथै हिँडडुल पनि गर्न थालिसक्नुभएको छ ।’
प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभका लागि चीनका राष्ट्रपति सी चिनफिङ र त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
‘चीनका राष्ट्रपति सी चिनफिङले शीघ्र स्वास्थ्य लाभको कामना गरेर लिखित सन्देश पठाउनुभएको छ । शीघ्र स्वास्थ्य लाभका साथै नेपाल–चीन दुई पार्टी र देशबीच सहकार्य बढाउने अपेक्षा गर्नुभएको छ,’ उनले भने ।
