२४ जेठ २०८३, आइतबार

सार्वजनिक शौचालयको योजना बनाउँदै कीर्तिपुर नगरपालिका

फागुन २४, २०७६
सार्वजनिक शौचालयको योजना बनाउँदै कीर्तिपुर नगरपालिका
प्रतिकात्मक तस्वीर

कीर्तिपुर नगरपालिकाले ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन’ पारित गर्दै कार्यान्वयनमा अगाडि बढाएको छ ।

आगामी वर्षदेखि सार्वजनिक शौचालयको योजना बनाउने तयारीमा जुटेको छ । 

सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउन ल्याइएको सो मार्गदर्शन कार्यान्वयन गर्ने सो नगरपालिका काठमाडौं उपत्यकाभित्रका नगरपालिकामध्ये नै पहिलो बनेको जनाइएको छ ।  

नगरको सरसफाइ र स्वच्छ वातावरणका लागि सार्वजानिक शौचालय महत्वपूर्ण अंग मानिन्छ तर उपत्यकाभित्र रहेका त्यस्ता शौचालय फोहर, अपर्याप्त पानी, कमजोर व्यवस्थापन, महिला, अपाङ्गता तथा तेस्रोलिङ्गी मैत्री शौचालय अभाव, हात धुने ठाउँ नहुनु, रसाउने र चुहिने समस्या, हात धुने ठाउँको अभाव  तथा सबैका दिसा गर्ने सुविधा नहुनु समस्या रहेका छन् ।

शौचालयमा हुनुपर्ने सेवासुविधा तोकिएको आधिकारिक मापदण्ड रहेको छैन । भएका शौचालयको अनुगमन र मूल्यांकन गर्ने कुनै निकाय नभएका कारण पनि शौचालयको अवस्थामा सुधार आउन कठिनाइ भएको बताइन्छ । यस समस्यालाई समाधान गर्न मार्गदर्शन आवश्यक रहेको जनाइएको छ ।  

कीर्तिपुर नगरपालिकाले गत वर्ष सार्वजनिक शौचालयका समस्या समाधान गर्न उपप्रमुख सरस्वती खड्काको अध्यक्षतामा एक समिति गठनसमेत गरेको थियो । साथै सो नगरपालिकासहित काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले र गुथी नामक गैरसरकारी संस्थाको सहयोगमा ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन मस्यौदा’ तयार गरिएको थियो । 

ती नगरपालिकामा रहेका सार्वजनिक शौचालयको समस्या समाधान गर्न मस्यौदामा बनेको गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए । यसैबीच मस्यौदालाई अन्तिम रुप दिन कीर्तिपुर नगरपालिका र सो संस्थाद्वारा संयुक्त रुपमा शुक्रवार छलफल कार्यक्रम सम्पन्न भयो ।

छलफलका क्रममा मार्गदर्शनलाई कार्यान्वयनमा कसरी लाने भन्ने विषयमा वडाध्यक्षले विभिन्न सुझाव दिएका थिए । कार्यक्रममा नगरपालिका प्रमुख रमेश महर्जनले भने, ‘मानिसको मनमस्तिष्कमा शौचालय भनेको फोहर हो भन्ने मान्यता छ । हाम्रा लागि ठूलो चुनौतीको रहेको छ । यो सोचमा परिवर्तन ल्याउन र जनचेतना जगाउन आवश्यक छ ।’

 कार्यक्रममा उपप्रमुख खड्काले भनिन्, ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन नगर सभाद्वारा पारित भई राजपत्रमा आउने क्रममा छ । म पहिलोपटक नगरपालिका आउँदा यहाँको शौचालयको अवस्था राम्रो थिएन । असह्य भएर पानी र डस्टबिनको व्यवस्था गरें । अहिले यो मार्गदर्शन पारित गरी सार्वजनिक शौचालयका समस्यालाई सम्बोधन गर्न हामी धेरै उत्साहित छौं । अब आउने आर्थिक वर्षमा यसै मार्गदर्शनअन्तर्गत रहेर सार्वजनिक शौचालयको योजना बनाउने छौं ।’

salt training

कमेन्ट गर्नुहोस्