
चीजको क्वान्चाउमा रहेको शिनजाई होटेल शनिवार भत्किँदा ७० जना फसेकोमा ४७ जनाको उद्धार गरिएको छ । २३ जना अझै बेपत्ता छन् ।
उक्त होटेल कोरोनाभाइरस संक्रमितहरूलाई क्वारेन्टाइनमा राख्न उपयोग गरिएको थियो ।
उद्धारकर्मीहरूले रातभरि लगाएर मानिसको उद्धार गरे तर २३ जना अझै फेला पारेका छैनन् ।
उद्धारकर्मीहरूले सुन्तला रंगको लुगा लगाएर शिनजिया होटेलको भग्नावशेषबाट मानिसको उद्धार गरेको र मानिसहरूलाई एम्बुलेन्सतिर लगेको भिडियो सार्वजनिक भएको छ ।
होटल शनिवार राति साढे ७ बजे भत्केको थियो । दुई घन्टाभित्र ३४ जनालाई उद्धार गरिएको क्वान्चो नगरपालिकाले आफ्नो वेबसाइटमा जानकारी दियो ।
‘म पेट्रोल पम्पमा हुँदा ठूलो आवाज सुनें । माथि हेर्दा पूरै भवनै भत्केको देखें । सबैतिर धूलो थियो र शीशाका टुक्राहरू सबैतिर छरिएका थिए,’ एक प्रत्यक्षदर्शीले बताए ।
‘म अत्यधिक डराएकाले हात र गोडाहरू काँपिरहेका थिए ।’
चेन थर भएकी एक महिलाले बेइजिङ न्युजलाई आफ्नी बहिनी र अन्य आफन्तहरू क्वारेन्टाइनका लागि होटेलमा बसिरहेको बताइन् । हुबेई प्रान्तबाट फर्केका मानिसलाई क्वारेन्टाइनका लागि उक्त होटेलमा बस्न स्थानीय अधिकारीहरूले निर्देशन दिएका थिए ।