
सिंगापुर सरकारले अनुहार चिन्ने प्रविधि ल्याएर सन् २०२२ देखि परिचयपत्र नै नचाहिने बनाउन लागेको छ ।
जुन महिनादेखि केही सरकारी निकायहरूमा क्यामरा जडान गरिनेछ । त्यसपछि मानिसहरूले क्यामरामा अनुहार देखाए पुग्छ, परिचयपत्र निकालिरहनुपर्दैन ।
अनुहान पहिचान प्रविधि स्मार्ट नेसन इनिसिएटिभ अन्तर्गत ल्याइएको हो र त्यो पहल प्रधानमन्त्री ली हसिएन लूङले शुरू गरेक हुन् । त्यसअन्तर्गत राज्यले १५ वर्षभन्दा माथिका ४० लाभन्दा बढी सिंगापुरीहरूको बायोमेट्रिक डेटाबेस बनाएको छ ।
अनुहार पहिचान गर्ने क्यामराले प्रत्येकपटक स्क्यान गर्दा डेटाबेसलाई रिफर गर्छ अनि मानिसको पहिचान पुष्टि गर्छ ।
क्यामरालाई सिंगपास मोबाइल नामक यापसँग जोडिएको छ । सन् २०१८ मा शुरू गरिएको उक्त यापमा मानिसहरूले सरकारको बायोमेट्रिक डेटाबेसमा आफ्नो फिंगरप्रिन्ट र अनुहारको डेटा दर्ता गर्ने सुविधा दिन्छ ।
पोहोर साल सिंगापुर पर्यटन बोर्डले केही होटेलहरूमा अनुहार पहिचान प्रविधिको परीक्षण गरेको थियो । होटेलका पाहुनाले केही सेकेन्ड क्यामरामा हेरेर चेकइन गर्ने सुविधा पाउँछन् ।
सिंगपास र सरकारको बायोमेट्रिक डेटाबेसबीचको सम्पर्कमार्फत अनुहार पहिचान नै व्यापारिक र घरजग्गा कार्यालयमा परिचयपत्रको विकल्प बन्ने सरकारको अपेक्षा छ ।