
चीनमा कोरोनाभाइरसका कारण लकडाउनको स्थिति आएपछि ६५ वर्षीया एक हजामले डण्डी भएका झ्यालबाहिर हात निकालेर ग्राहकको कपाल काटेको दृश्य भिडियोमा कैद भएको छ ।
क्वारेन्टाइनका कारण उनका ग्राहकहरूलाई उनी बसेको भवनमा प्रवेश गर्न नदिइएपछि उनले यस्तो उपाय निकालेकी हुन् ।
होउ थर भएकी हजामले संक्रमण फैलिएपछि सैलुन बन्द गरेकी थिइन् अनि केही ग्राहकहरूले उनलाई झ्यालबाट हात निकालेर कपाल काट्न अनुरोध गरेका थिए ।
‘मैले हात बाहिर निकाल्नुपर्यो र कपाल काट्न सानो कुर्सीमा उभिनुपर्यो । त्यसले बहुतै थकाउँछ,’ होउले स्थानीय सञ्चारमाध्यमलाई बताइन् ।
विगत एक दशकदेखि हेनान प्रान्तमा ती महिलाले घरबाहिर सडकमा मानिसको कपाल काट्ने गरेकी थिइन् ।
ती महिलाले असाध्यै राम्ररी कपाल काट्ने अनि सस्तोमा काट्ने भएकाले मानिसहरू मरिहत्ते गर्छन् । पुरुषहरूको कपाल काट्न एकदमै थोरै रकम अर्थात् तीन युआन मात्र उनी लिन्छिन् ।