
सरकारका प्रवक्ता युवराज खतिवडाले खाद्यान्न र औषधि झण्डै ६ महिनाका लागि पुग्ने गरी मौजदात रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले तीन महिनाका लागि पेट्रोलियम पदार्थ पनि मौजदात रहेको बताएका हुन्।
कृत्रिम अभाव सिर्जना गर्ने र अस्वभाविक मूल्य असुल गर्नेलाई सामाजिक अपराधका रुपमा कारवाही गर्नेसमेत सरकारले चेतावनी दिएको छ।
मन्त्री खतिवडाले वस्तुको अभाव हुने भनेर फैलाइएको अनावश्यक हल्लाको पछि नलाग्न अनुरोध गरे। ‘अन्य वस्तुमा समस्या छैन, केही औषधिजन्य वस्तुमा भारतले प्रतिबन्ध लगाएको सन्दर्भमा भन्सार विन्दुमा आएको वस्तु छुटाउने र अन्य विषयमा कूटनीतिक तहमा वार्ता गरी आवश्यकीय वस्तु अभाव हुन नदिन अनुरोध गरिसकिएको छ, त्यसमा पनि अब समस्या छैन,’ उनले भने।