०३ साउन २०८३, आइतबार

ऊर्जामन्त्री पुनले गरे नेपालको विद्युत् किन्न भारतलाई आग्रह

फागुन २८, २०७६
ऊर्जामन्त्री पुनले गरे नेपालको विद्युत् किन्न भारतलाई आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले छिमेकी भारतसमक्ष नेपालबाट विद्युत् खरिद गर्न आग्रह गरेका छन् ।

यसअघि नेपालले भारतबाट विद्युत् खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युत्मा आत्मनिर्भर हुने भन्दै विद्युत् खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न आग्रह गरे ।

‘अहिले हामी भारतबाट विद्युत् खरिद गरिरहेका छौं,’ सिंहदरवारस्थित मन्त्रालयमा भेट्न आएका भारतीय ऊर्जा मन्त्रालयका सचिव संजिव नन्दन (एसएन) सहायसँग बुधवार मन्त्री पुनले भने, ‘अब हामी भारतमा बिजुली निर्यात गर्न सक्ने भएका छौं । त्यसका लागि जारी प्रक्रियाले गति लेओस् भन्ने चाहन्छौं ।’

नेपाल विद्युत् प्राधिकरण र भारतीय केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) बीच विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भइसकेको छ तर सम्झौता अनुसार भारतीय ऊर्जा मन्त्रालयले त्यहाँको विद्युत् प्राधिकरणलाई विद्युत् व्यापारको सहमति दिन ढिलाइ भएका कारण काम शुरू हुन सकेको छैन ।

मन्त्री पुनले २ देशका प्राधिकरणबीच भएका सम्झौताअनुसार ऊर्जा मन्त्रालयबाट सहमति दिने काम छिटो गरिदिन आग्रह गरे । जवाफमा सचिव सहायले त्यो छिट्टै हुने प्रतिबद्धता जनाए ।

मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनबारे यसअघि २ देशबीच पटक–पटक छलफल र सहमति भएको स्मरण गराउँदै उक्त काम छिट्टै सक्नुपर्नेमा जोड दिए ।

नेपालले १२ सय मेगावाटको बुढीगण्डकी, ७ सय ५६ मेगावाटको तमोर र ६ सय ३५ मेगावाटको दूधकोसीजस्ता ठूला जलासययुक्त आयोजना निर्माणको काम अघि बढाएको र ती आयोजनाबाट भारतले समेत अप्रत्यक्ष लाभ लिन सक्ने मन्त्री पुनको भनाइ थियो । 

ती आयोजनाबाट भारतको तल्लो तटीय क्षेत्रमा बर्सेनि हुने बाढी/डुबान नियन्त्रण, सिँचाइ, खानेपानी तथा जल यातायातमा लाभ लिन सक्ने बताए । दुवै मुलुकले लाभ लिने भएकाले त्यस्ता आयोजनामा सहकार्य गर्न मन्त्री पुनले प्रस्ताव गरे ।

मन्त्री पुनले भारत सरकार र भारतीय कम्पनीलाई नेपालको जलविद्युत् क्षेत्रमा थप लगानीका लागि समेत अपिल गरे । नेपालमा लगानीको राम्रो वातावरण बनेको उनको भनाइ थियो । 

जवाफमा भारतीय ऊर्जा सचिव सहायले विद्युत् व्यापार सम्झौता र अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम छिट्टै अगाडि बढ्ने विश्वास व्यक्त गरे । अरुण तेस्रो जलविद्युत् आयोजनाको काम अगाडि बढाउन नेपाल सरकार र ऊर्जा मन्त्रालयले राम्रो सहजीकरण गरेको भन्दै सचिव सहायले प्रशंसा गरे । सचिव सहायले नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा थप सहकार्य हुने बताए । नेपालको जलविद्युत् भारतको सौर्य र वायु ऊर्जाको पूरक हुने भन्दै सचिव सहायले नेपालको जलविद्युत् क्षेत्रमा भारतबाट थप लगानी आउने प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्