
पूर्वपञ्चको पार्टी राप्रपाका २ घटकबीच एकता घोषणा, वैकल्पिक धार स्थापना भएको कमल थापाको दाबी
पूर्वपञ्चको पार्टी राप्रपाका २ धारबीच बुधवार एकीकरण घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणको घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले राप्रपा एकताले नेपालमा वैकल्पिक धारको उदय भएको दाबी गरे ।
‘कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको मिलन मात्र होइन, नेपालको राजनीतिमा बलियो र तेस्रो वैकल्पिक राजनीतिक धारको स्थापना भएको छ,’ थापाले भने, ‘कांग्रेस र कम्युनिस्टबाट वाक्क भएका जनताले भोट हाल्ने ठाउँ पाएका छन् ।’
अध्यक्ष थापाले आफूहरू राजनीतिक परिवर्तनकाविरोधी नभएको जिकिर गरे ।
‘हामी सनातन हिन्दूधर्म सहितको राजतन्त्र स्थापनाको पक्षमा छौं, राजादेखि लिएर विप्लवसम्म अट्ने विश्वकै मौलिक लोकतन्त्रको पक्षमा छौं,’ उनले भने ।
कोरोनाबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सम्पन्न, के–के भयो छलफल ?
कोरोना भाइरसको संक्रमणविरुद्ध लड्ने विषयमा छलफल गर्न सरकारले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारद्वारा गठित उच्चस्तरीय समितिले बोलाएको बैठकमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भइरहेको प्रयास र भावी रणनीतिबारे छलफल भएको थियो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा केही महत्त्वपूर्ण सुझाव प्राप्त भएको उपप्रम पोखरेलले बताए ।
'कोरोना भाइरस संक्रमणको सम्भावनालाई ख्याल गरेर जुन बनाएका थियौं उच्चस्तरीय समिति, त्यो उच्चस्तरीय समितिले गरेका कामबारे जानकारी गरायौं, उहाँहरूले राम्रो कामका लागि धन्यवाद र केही महत्त्वपूर्ण सुझाव दिनुभएको छ । हामीले यही उद्देश्यका लागि बैठक बोलाएका थियौं जुन सफल भएको छ,' उपप्रम पोखरेलले भने ।
समन्वयात्मक ढंगले सूचना सम्प्रेसण गर्ने र स्वास्थ्य संस्थाहरूलाई पनि यही बेलामा सक्षम बनाएर लैजाने लगायतका सुझाव प्राप्त भएको पोखरेलले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराए ।
सरकारको तयारी र कामको विषयलाई सबै दलले अत्यन्तै सकारात्मकरूपमा लिएको पाइएको जिकिर उनले गरे ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ ।
मिर्गौला प्रत्यारोपण गरिएको ८औं दिन बुधवार अस्पताल परिसरमा आयोजित नियमित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले यस्तो जानकारी गराएका हुन् ।
'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको आज ८औं दिन, उहाँको स्वास्थ्य राम्रो रहेको छ । उहाँले यसअघि जस्तै नियमित खानपान र व्यायाम गरिरहनुभएको छ,' पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्रोतको हवाला दिएर गलत समाचार सम्प्रेसण नगर्न आग्रह गरे ।
प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गएको बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो ।
प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने झापाकी समीक्षा संग्रैलाले मिर्गौला दिएकी हुन् ।
समीक्षा आज डिस्चार्ज भएकी छन् । उनी प्रधानमन्त्रीसँगै अघिल्लो साताको सोमवार अस्पताल भर्ना भएकी थिइन् ।
डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् ।
ओलीले मिर्गौला प्रत्यारोपण गराएको यो दोस्रोपटक हो ।
पहिलोपटक उनले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।
त्यतिबेला उनलाई बुहारी अञ्जान घिमिरेले मिर्गौला दिएकी थिइन् ।
उक्त मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
सर्वदलीय बैठकमा उठ्यो प्रश्न - 'सेल्फ क्वारेन्टाइन' पनि ठिकै हो, तर सरकारको अनुगमन चाहिँदैन ?
राजनीतिक दलका नेताहरुले विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भनिने 'कोभिड १९' भाइरसविरुद्धको लडाईंमा एकजुट भएर सामना गर्ने बताएका छन् । देशलाई अप्ठेरो परेको अवस्थामा सरकार, सत्तारुढ र प्रतिपक्षी सबै एक ठाउमा उभिएर कोरोनाविरुद्ध लड्ने संकल्प गरेका हुन् ।
कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलले बुधवार आयोजना गरेको सर्वदलीय बैठकमा नेताहरुले कोरोनाविरुद्ध सरकारले गर्ने काममा सहयोग गर्ने बताए ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा केही महत्त्वपूर्ण सुझाव प्राप्त भएको उपप्रम पोखरेलले बताए ।
'कोरोना भाइरस संक्रमणको सम्भावनालाई ख्याल गरेर जुन बनाएका थियौं उच्चस्तरीय समिति, त्यो उच्चस्तरीय समितिले गरेका कामबारे जानकारी गरायौं, उहाँहरूले राम्रो कामका लागि धन्यवाद र केही महत्त्वपूर्ण सुझाव दिनुभएको छ । हामीले यही उद्देश्यका लागि बैठक बोलाएका थियौं जुन सफल भएको छ,' पोखरेलले भने ।
समन्वयात्मक ढंगले सूचना सम्प्रेषण गर्ने र स्वास्थ्य संस्थाहरूलाई पनि यही बेलामा सक्षम बनाएर लैजाने लगायतका सुझाव प्राप्त भएको पोखरेलले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराए । उनले सरकारको तयारी र कामको विषयलाई सबै दलले अत्यन्तै सकारात्मकरूपमा लिएको पाइएको जिकिर गरे ।
बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संकटको बेला एकजुट हुने नेपाली राजनीतिक दलहरुको संस्कार रहेको र फेरि एकपटक एकजुट हुनुपर्ने अवस्था आएको बताए ।
‘कोरोना संक्रमणबाट बच्न सरकारले गरेको कामप्रति समर्थन छ, यसको असर नेपालमा भित्रिन नदिन अझ प्रभावकारी ढंगले काम गर्न जरुरी छ,' बैठकमा प्रचण्डले भने ।
त्यसपछि सरकारका मन्त्रीहरुले कोरोनाविरुद्धको सचेतना, आपूर्ति, शिक्षा र अर्थतन्त्रको अवस्थाबारे जानकारी गराएका थिए । शिक्षामन्त्रीले तत्कालै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था नरहेको बताए । आपूर्ति मन्त्रीले खाद्यान्नको अभाव हुन नदिने बताए ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका गगन थापाले सरकारले गर्नुपर्ने तयारीका बारेमा जानकारी गराएका थिए । उनले आफूहरुले संसदमा भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निजी क्षेत्रका अस्पताललाईसमेत तयारी अवस्थामा राख्न सरकारको ध्यानाकर्षण गराए । ‘चीनबाट आएर नेपालको क्वारेन्टाइनमा बसेका डाक्टरहरुको पनि सहयोग लिन सकिन्छ,’ राजभण्डारीले बैठकमा भनेका थिए ।
बैठकपछि कांग्रेस सांसद थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै केही दिन अघि संसदमा भएको छलफलकै स्पिरिटमा काम गर्नुपर्ने सुझाव आफूहरूले सरकारलाई दिएको बताए ।
'आज समन्वय समितिको तर्फबाट केही दिनअघि संसदमा जुन छलफल भयो त्यही स्पिरिटमा गरिएको कामको जानकारी पनि गराउने र एकै ठाउँ रहेर यसका निम्ति तयारी पनि गर्ने भनेर उपप्रधानमन्त्री पोखरेलले शुरुमै भन्नुभयो,' थापाले भने ।
उनले कार्यदल बनेपछि एकीकृत कार्ययोजना बन्नुपर्ने कुरा आफूले राखेको बताए । 'एकीकृत भनेपछि बहुकेन्द्रित हुन्न,' उनले भने, 'एउटै केन्द्रबाट सबै काम हुनुपर्छ, एउटै केन्द्रबाट सूचना आउनुपर्छ । मन्त्रालयगत भयो भने एकीकृत हुँदैन ।'
थापाले पोखरेलले स्वास्थ्यसम्बन्धी कुरा स्वास्थ्य मन्त्रालयबाट जान्छ र बाँकी रहेको चाहिँ सञ्चारमन्त्रालयबाट जान्छ भन्ने व्यवस्था मिलाउने भनी आश्वस्त पारेको बताए ।
थापाले संक्रमित देशमा हवाई उडान नरोक्ने भए आउनेजति सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने सुझाव आफूले दिएको बताए ।
'हवाई मार्गबाट अति संक्रमित देशबाट आउने नागरिकको कुरा छ, आउने कुरालाई बन्द नगर्ने भनिसकेपछि अहिले भइरहेको व्यवस्था रोग नभएको प्रमाण पत्र मात्र पुग्दैन,' थापाले भने, 'कम्तिमा ती देशबाट आउने नागरिकलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ । खर्चिलो भएपनि गर्नुपर्छ । डब्ल्युएचओले बनाएको प्रोटोकललाई राम्रोसँग लागू गर्नुपर्छ । सेल्फ क्वारेन्टाइन पनि गर्न सक्छौं तर अनुगमन गर्नुपर्छ ।'
यसका बारेमा सबै कुराहरू जानकारी दिन सरकारले 'नेपाली पोर्ट' भन्ने वेब पेज बनाएर संचालन गर्न लागेको थापाले बताए ।
थापाले काठमाडौँमा सरकारी र निजी अस्पतालमा गरेर जम्मा १ सय ५० मात्र आइसीयु बेड रहेको र त्यो पर्याप्त नभएको बताए । 'कोरोना लागेपछि धेरैले अस्पतालको सेवा लिन्छन् भन्ने कुरा बुझ्नुपर्यो,' उनले भने, 'अलि ठूलो संक्रमणको समस्या भयो भने आइसीयु छैन हामीसँग । निजी अस्पतालसँग पनि साझेदारी गर्नुपर्यो । प्रदेशमा पनि आइसीयु तयार गर्नुपर्यो । खरिपाटी र नगरकोट जस्तो क्वारेन्टाइन धेरै प्रयोग गर्ने अवस्था नआओस् ।'
थापाले सरकारले आफूहरूलाई दुईवटा कुराहरूमा आश्वस्त बनाएको बताए । 'पहिलो कुरा आपूर्ति व्यवस्थामा कुनै असर नपरेको भनेर उहाँहरूले भन्नुभएको छ र दोस्रो नेपालको अर्थतन्त्रमा खासै प्रभाव नपरेको कुरा छ,' थापाले भने ।
उनले स्थलमार्गबाट नेपाल आउने १ सय २१ नाका रहेको र त्यसमध्ये ४१/४२ मा मात्र सरकारको उपस्थिति रहनु गम्भीर रहेको बताए । 'मानिसहरूको थोरै आवागमन छ भने पनि त्यहाँ सरकारले अनुगमनका लागि सुरक्षाकर्मी र स्वास्थ्य चेक जाँचका लागि स्वास्थ्यकर्मी पठाउन ढिला गर्नुहुन्न,' थापाले सञ्चारकर्मीहरूसँग भने ।
टूटल र पठाओमाथि प्रतिबन्ध लगाउन नाम उल्लेख नगरी यातायात व्यवस्था विभागले दियो चेतावनी
अन्य प्रयोजनका लागि दर्ता भएका सवारी साधनलाई सार्वजनिक सवारीका रूपमा प्रयोग नगर्न यातायात व्यवस्था विभागले चेतावनी दिएको छ ।
टूटल, पठाओजस्ता एपको माध्यमबाट निजी सवारी साधनहरूलाई सार्वजनिक सवारीको रूपमा प्रयोग भइरहेको सन्दर्भमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अन्य प्रयोजनका लागि दर्ता भएका सवारी साधनलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको हो ।
'विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरूलाई विभिन्न माध्यमबाट आफूखुशी भाडा तोकी सार्वजनिक सवारीको रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको 'कुनै एक प्रयोजन'का निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्थाविपरीत हुन जाने हुँदा त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारवाही गरिने र सो सम्बन्धमा यस विभाग, मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' विभागद्वारा जारी सूचनामा भनिएको छ ।
टूटल तथा पठाओलाई कानूनविपरीत सेवा प्रदान गर्न छूट नदिन माग गर्दै ट्याक्सी व्यवसायी तथा चालकले विभागलाई घेराउ गरेकै दिन विभागले सूचना जारी गरेको हो । ट्याक्सी व्यवसायीहरूले बुधवार विभाग घेराउ गरेका थिए ।
बुधवारकै मितिमा प्रकाशित सूचना राति अबेर विभागको फेसबूक पेजमा अपलोड गरिएको थियो ।
बाँस्कोटाको घरमा विस्फोट गराउने गुरुङ विप्लवको जिल्ला सदस्य भएको पुष्टि
पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट गराउने देव गुरुङ नेत्रविक्रम चन्द विप्लव समूहको भक्तपुर जिल्ला सदस्य भएको पुष्टि भएको छ ।
आज विहान बाँस्कोटाको घरमा विष्फोट गराउने गुरूङ दुर्गा प्रसाईको घरमा पनि बम राखेको प्रहरीको सूचनामा रहेको प्रहरी स्रोतले लोकान्तरसँग भन्यो ।
‘दुर्गा प्रसाईँको घरमा पनि बम राख्ने उही नै थियो । त्यसपछि प्रहरीको खोजीको सूचीमो थिए,’ स्रोतले भन्यो ।
बाँस्कोटाको घरमा बम पड्काउने आतंककारी समूह : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आतंककारी समूहले गोकुल बास्कोटाको घरमा बम विष्फोट गराएको भन्दै घटनाको निन्दा गरेका छन् ।
बुधवार बिहान प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् ।
पूर्व सञ्चार तथा प्रविधिमन्त्री बाँस्कोटाको मध्यपुर नगरपालिका वडा नम्बर १, लोकन्थली भक्तपुरस्थित निर्माणाधिन घरमा बुधवार बिहान बम विष्फोट भएको थियो ।
घटनास्थलमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले घटना आफूले गराएको स्वीकारसहितको पत्र भेटिएको प्रहरीले बताएको छ ।
प्रचण्डले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समुहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छ । म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु ।'
प्रचण्डले घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानूनी कारबाही गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएको बुधवार (फागुन २८) एक वर्ष पूरा भएको छ ।
पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट
पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बुधवार बिहान बम विष्फोट भएको छ ।
बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ भने झ्यालका सिसाहरू पनि फुटेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार विस्फोटका कारण छिमेकीको घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ । बाँस्कोटाका छिमेकीद्वय कुवेर केसी र कपिल घिमिरेको घरमा क्षति पुगेको हो ।
मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको एसएसपी ज्ञवालीले जानकारी दिए ।
विस्फोट कसले र किन गरायो भन्ने खुलिनसकेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
गोकुल बाँस्कोटाको घरमा भएको विस्फोटमा संलग्न रहेको आशंकामा एकजना पक्राउ
पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अन्दाजी ५० वर्षका देव गुरूङ नाम गरेका व्यक्ति रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले जानकारी दिए ।
'हामीले आशंका गरेको लिस्टबाट एक जनालाई पक्राउ गरेका छौं, अन्य विवरण आइसकेको छैन,’ प्रधानले भने ।
महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले गुरुङलाई पक्राउ गरेको हो ।
बाँस्कोटाको भक्तपुरस्थित घरमा बुधवार बिहान अज्ञात समूहले बम विस्फोट गराएको थियो ।
विस्फोटका कारण घरको कम्पाउण्ड र झ्यालका शिशाहरूमा क्षति पूगेको छ ।