नेपालीहरूको रोजगारको प्रमुख गन्तव्य कतारमा थप २ सय ३८ जनामा कोरोना भनिने कोभिड १९ को संक्रमण फेला परेको छ । उनीहरू गत आइतवार फेला परेका ३ जना संक्रमित रहेको आवासीय भवनमा बस्ने गर्दथे ।
कतारको स्वास्थ्य मन्त्रालयले यससँगै गरेर हालसम्म २ सय ६२ जना कोरोनाबाट संक्रमित रहेको पुष्टि गरेको हो ।
कतारको स्वास्थ्य मन्त्रालयले यसअघि फेला परेका संक्रमितहरूसँग सम्पर्कमा आएका मानिसहरू धेरै भएकाले संक्रमणको संख्या बढ्न सक्ने बताएको छ । मन्त्रालयले फेला परेका सबै संक्रमितहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण भइरहेको पनि जनाएको छ ।
'सबै बिरामीहरूलाई अस्पतालमा पूरै आइसोलेसनमा राखिएको छ र परीक्षण गरिएको छ,' स्वास्थ्य मन्त्रालयले भनेको छ ।
स्वास्थ्य मन्त्रालयले सबैलाई आफ्नो सुरक्षाका उपायहरू अपनाउन र सूचनाका लागि मन्त्रालयको वेबसाइटहरू हेर्न आग्रहसमेत गरेको छ ।