काठमाडौं, ७ बैशाख – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच राजनीतिक दलहरुबीच एकता भएको छ ।
बुधबार अबेरसम्म चलेको वार्ताबाट महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र शरद्सिंह भण्डारी नेतृत्वको तराई मधेस समाजवादी पार्टीबीच एकता गर्ने समझदारी भएको हो । ती दलहरुबीच बिहिबार दिउँसो एक कार्यक्रम गरेर एकता घोषणा हुने बताइएको छ ।
.jpg?1492651398207)
नेताहरुका अनुसार नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा राजधानीबाहिर रहेकाले उनी भने यो प्रक्रियामा सहभागि हुने नहुने अन्तिम टुंगो लागिसकेको छैन। यद्यपी उनी पनि सकारात्मक रहेकाले आज उनीसँग पनि निर्णायक कुरा गरेर एकता घोषणा गर्ने प्रयास हुनेछ । तर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल भने एकताप्रक्रियाबाट बाहिर रहेको छ । सो पार्टीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकता गर्न लागेको छ ।
तराई मधेसमा आन्दोलतरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा ७ दल आबद्ध रहेकोमा अनिल झापनि एकतामा सहभागी रहेमा ६ दल अब एकै हुनेछन् ।
राजधानीको जवलाखेलस्थित एक घरमा भएको बैठकमा पार्टीको नाम, झण्डा र चुनाव चिन्हलगायतका बारेमा पनि निर्णय भएको छ ।
एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिह्न र झन्डा छाता रहने छ । पार्टी अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने बैठकको निर्णय छ ।