०३ असार २०८३, बुधबार

प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने

फागुन ३०, २०७६
प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने

मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले मिर्गौला प्रत्यारोपण गरिएको १०औं दिनमा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई शुक्रवार साँझ डिस्चार्ज गरिने बताएका छन् ।

शुक्रवार अपराह्न सञ्चारकर्मीहरूसँगको कुराकानीमा डाक्टर खड्गाले ओली पूर्ण रूपमा स्वस्थ रहेकाले शुक्रवार साँझ डिस्चार्ज गरिने बताएका हुन् ।

शुक्रवार प्रधानमन्त्री ओली अस्पताल भर्ना भएको भने १२ दिन पुगेको छ । प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले अघिल्लो साताको बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने झापाकी समीक्षा संग्रैलाले मिर्गौला दिएकी हुन् ।

समीक्षा भने बुधवार नै डिस्चार्ज भइसकेकी छन् । उनी प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार अस्पताल भर्ना भएकी थिइन् ।

डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी थिइन् ।

ओलीले मिर्गौला प्रत्यारोपण गराएको यो दोस्रोपटक हो । पहिलोपटक उनले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

त्यतिबेला उनलाई बुहारी अञ्जान घिमिरेले मिर्गौला दिएकी थिइन् । उक्त मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्