
महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका तथा उल्लेखनीय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवान समेत ७४ अधिकृत तथा जवानलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्जमा पठाइएको छ ।
प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सुधारको कार्य गरिएको हो ।
आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा ७ दिने सुधारात्मक तालिम समेत सञ्चालन गरिने छ ।
यसपछि अब इन्टेलिजेन्टका रुपमा कार्यरत हुने कर्मचारीमा सकारात्मक आचरण व्यवहार मात्र नभएर तोकिएको जिम्मेवारीभित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकंन हुने परिपाटीको थालनी गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए ।
सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मूलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत उनले बताए ।