२७ जेठ २०८३, बुधबार

रोल्पामा शुरू भयो सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाहरूको छानबिन

रोल्पामा शुरू भयो सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाहरूको छानबिन

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले रोल्पाबाट छानविन प्रक्रिया अघि बढाएको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिको स्थलगत छानविन गर्न आयोग रोल्पा आएको हो ।

आयोगलाई प्राप्त उजुरीका आधारमा बेपत्ताको सत्यतथ्य अनुसन्धान गरी सिफारिस गर्न आफू स्थलगत अध्ययनमा आएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिए ।

'आयोगले पाएको समयावधिमै तोकिएका काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको छ,' अध्यक्ष सुवेदीले भने, 'अनुसन्धानपछिका प्रक्रियाका लागि कानूनको अभाव रहे पनि अनुसन्धानका लागि विद्यमान कानूनले अवरोध नगर्ने भएकाले उपलब्ध कानूनी अवस्थालाई अधिकतम उपयोग गर्छौं ।'

द्वन्द्वपीडितमैत्री कानून नभएको आफूले सुनेको बताउँदै त्यसका लागि सुझाव दिएको सुवेदीले बताए ।

सशस्त्र द्वन्द्वको उद्गम थलो मानिने रोल्पामा विभिन्न माध्यमबाट कूल उजुरी १३२ परेका छन् । तीमध्ये ३२ वटा उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पठाइएको छ ।

यसैगरी उजुरीकर्ताको अनुरोधमा तीन उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाइएको छ । तामेलीमा पाँच उजुरी छन् ।

विस्तृत छानविन गर्ने भनी आयोगबाट ९८ उजुरीको निर्णय भइसकेको आयोगले जानकारी दिएको छ । आयोगले ९८ उजुरीलाई कारवाहीयुक्त उजुरीका रुपमा राखेको छ ।

उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या ९९ छन् । आयोगका सदस्य विश्वप्रकाश भण्डारी, डा गङ्गाधर अधिकारी, सुनिल रञ्जनसिंह र सरिता थापासँगै आयोगका कर्मचारी संलग्न छन् ।

सदरमुकामको जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा चार वटा कार्यटोली बनाएर अनुसन्धानको काम गरिरहेको आयोगका सचिव कृष्णजीवी घिमिरले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्