काठमाडौं, ७ वैशाख –संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको कृतिम अभाव चुलिएको छ ।

नेपाल आयल निगमका अनुसार केही दिनयता असामान्य रुपमा पेट्रोलियम पदार्थको माग चुलिएको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा भाग नलिने घोषणा गरेसँगै मोर्चाले आगामी १६ गतेदेखि श्रृंखलावद्व रुपमा आन्दोलनको घोषणा गरलगत्तै पेट्रोलको माग ह्वात्तै बढेको निगमले जनाएको ।
उपत्यकामा सामान्य अवस्थामा पेट्रोलको माग करीव चार लाख लिटर (४ सय किलोलिटर) रहेको निगम बताउँछ । तर, केही दिनयता पेट्रोलको माग झण्डै दोब्बरले बढेको छ । ‘अहिले दैनिक ८ लाख लिटरको हाराहारीमा पेट्रोलको माग देखिएको छ,’ निगमका प्रवक्त सिताराम पोखरेलले लोकान्तरसँग भने ।
आन्दोलनको त्रासले पेट्रोलको कृतिम अभाव चुलिएको निगमको भनाई छ । ‘आन्दोलनको घोषणा भएसँगै उपभोक्ताले पेट्रोलको संचय बढाउँदा अभाव देखिएको हो,’ प्रवक्ता पोखरेलले भने । माग अस्वभाविक रुपमा बढेपछि त्यसअनुसारको आपूर्ति दिन नसकेको निगम बताउँछ । केही दिनयता दैनिक ६ सय किलोलिटरको हाराहारीमा पेट्रोलको माग रहेको पोखरेलले बताए ।
माग बढेबमोजिम पेट्रोलको आपूर्ति बढाइन लागिएको उनले बताए । भारतका थप स्थानबाट करीव १ लाख ६० हजार लिटर अतिरिक्त पेट्रोलियम आयात गर्न लागिएको उनले बताए । केही दिनभित्रै पेट्रोलको अभाव समाधान हुने निगमको दावी छ ।