
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौला समूहले छुट्टै टीम बनाएर १४ औं महाधिवेशनमा होमिने संकेत दिएको छ ।
सोमवार बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा करीब २ सय नेताहरूको भेला गरेर आफू कमजोर नभएको संकेत सिटौलाले दिएका छन् । सिटौला समूहले आयोजना गरेको उक्त भेलामा पूर्वमन्त्री तथा संसद भीमसेनदास प्रधानसहित ४ जना केन्द्रीय समिति सदस्यले बोलेका थिए ।
भेलामा युवा नेताद्वय गगन थापा, प्रदीप पौडेल, संसद भिमसेनदास प्रधान र शिवप्रसाद हुमागाईंसहित करीब २ सयजनाको उपस्थिति थियो ।
भेलामा सिटौलाले महाधिवेशन २०७७ को फागुनभन्दा पनि अझै पछि सार्ने खेल भएको भन्दै आफ्ना समूहका नेताहरूलाई त्यसको डटेर विरोध गर्न सुझाव दिए ।
उक्त भेलामा बोल्दै नेता थापाले सिटौलाको नेतृत्वमा एकजुट भएर महाधिवेशनमा जाने बताए । ‘महाधिवेशनका लागि हामी हाम्रो सम्पूर्ण शक्ति प्रयोग गर्छौं,’ थापाले भने । उनले सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले पदीय दायीत्वविपरितका कामहरू गर्दा कांग्रेस कमजोर भएको आरोप लगाए ।
‘यत्रो लामो समय चार–चार वर्ष बित्यो । अधिवेशन सुरु भइसक्यो । क्रियाशील सदस्यता बाँड्न लागिसक्यो । अब अहिले आएर पार्टीका विभाग बनाउने, विभाग पनि कति संख्यामा बनाउने ? पार्टीको विधान लेखेको भन्दा दर्जनौं बढी विभागहरु बनाउने ?’ थापा पड्किए ।
भेलामा बोल्दै नेता पौडेलले कांग्रेसमा तेस्रो धार छिन्नभिन्न भयो भन्ने प्रचारबाजी भएको तर आफूहरू एकजुट रहेको बताएका थिए ।
‘हामी एउटा सामूहिक पहल गर्ने वैचारिक पक्षबाट कृष्णप्रसाद सिटौलाको यो टिमले पार्टीमा ठोस योगदान गर्ने उद्देश्यले एउटा परिणाममुखी उपलब्धी दिलाउने उद्देश्यले हामी संगठित भएका हौं,’ पौडेलले भने, ‘त्यहीअनुसार हामी अगाडि बढिरहेका छौं ।’
पौडेलले नेपाली कांग्रेस थुप्रै विषयहरुमा अल्मलिएको जस्तो देखिएको बताए । ‘आज धेरै ढंगबाट तानाबाना बुनिएको छ,’ उनले भने, ‘मुलकुमा हामीले सोच्दै नसोचेको दुर्घटना हुने स्थिति बन्न सक्छ । गणतन्त्रप्रतिको हाम्रो जुनखालको वफादारिता, जुनखालको प्रतिवद्धता हुनुपर्थ्यो त्यो संगठित ढंगबाट हुन नसकेको जस्तो देखिएको छ ।’
नेता पौडेलले पद प्राप्तिको आकांक्षा बोकेको भए आफूहरू पहिलो र दोस्रो समूहमा हुने भन्दै नयाँ ढंगबाट विषयहरू उठान गर्न तेस्रो समूह रोजेको बताए ।
‘कांग्रेसमा हामीलाई थर्ड पोल भन्ने गरिन्छ,’ पौडेलले भने, ‘पहिलो हामी होइनौं, दोस्रो पनि होइनौं । पद प्राप्तिका निमित्त, स्वार्थका निम्ति जोडिएको भए पहिलो र दोस्रोतिरै जान्थ्यौं । हामी अलि पार्टीमा नयाँ ढंगबाट विषयहरु उठान गर्न सक्छौं कि, पार्टीलाई अलि प्रगतिशील बाटोमा अगाडि लिएर जान सक्छौं कि, पार्टीको प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा महत्वपूर्ण योगदान गर्न सक्छौं कि भन्ने उद्देश्यले हामी अलि फरक ढंगले उभिने कोशिस गरेका हौं ।’
यससँगै सिटौलाले १४ औं महाधिवेशनमा आफ्नो बाटो प्रष्ट पारेका छन् । युवानेताहरूको साथ लिएर सिटौलाले कांग्रेसभित्र आफूहरू पनि ठूलो शक्ति रहेको सन्देशसमेत दिएका छन् ।
भेलामा सहभागी एक नेताले सिटौला देउवातिर लहसिएको तथा गगन र प्रदीप रामचन्द्र समूहसँग नजिक भएको भन्ने अफवाह चिर्नको लागि भेला आयोजना गरिएको बताए । ‘अब अझ तयारीका साथ अर्को भेला गरेर हामी पार्टीको वैकल्पिक शक्ति हौ भन्ने सन्देश दिनेछौं,' ती नेताले लोकान्तरसँग भने ।