२९ जेठ २०८३, शुक्रबार

नेकपाको प्रस्तावमा पहिलो मतदान, प्रदेशको नाम 'जानकी' राख्ने पक्षमा भोट हाल्न ह्वीप

चैत ४, २०७६
नेकपाको प्रस्तावमा पहिलो मतदान, प्रदेशको नाम 'जानकी' राख्ने पक्षमा भोट हाल्न ह्वीप

प्रदेशको राजधानी र नामबारे निर्णय गर्ने भनिएको मंगलवारको २ नम्बर प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ ।

स्थगित हुनुअघि प्रदेशसभा बैठकले निर्वाचन अधिकृतमा प्रदेशसभा सचिवालयका उपसचिव अरुणकुमार झालाई तोकेको छ ।

बैठकले प्रदेशको नाम सम्बन्धी प्रस्तावमध्ये ‘जानकी’लाई पहिलो प्रस्तावका रुपमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सांसद रामकुमार यादवले जानकी नाम प्रस्ताव गरेका थिए ।

प्रदेशसभा बैठकबाट २ वटा संशोधन प्रस्ताव फिर्ता लिइएको छ । नेकपा सांसद रामचन्द्र मण्डलले राखेको ‘मिथिला भोजपुरा मधेश प्रदेश’ प्रस्ताव र नेकपा सांसद किशोरी शाह कमलले राजधानी सम्बन्धी दर्ता गरेको प्रस्ताव प्रदेशसभा बैठकमा फिर्ता लिइएको छ ।

नेकपाले नामका सन्दर्भमा पार्टीको आधिकारिक निर्णयमा मतदान गर्न ह्वीप जारी गरेको छ । नेकपाले जानकी प्रदेश नामका पक्षमा उभिने निर्णय गरेको छ ।

राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ । नामबारे फरक–फरक धारणा छ । नेकपाले जानकी प्रदेश नाम राख्न प्रस्ताव गरेको छ भने कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ । राजपा र समाजवादी पार्टीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

सभामा १०७ जना सांसद छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् । नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाइ पुर्‍याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्